बेमौषमी वर्षातबाट भएको क्षतिको विवरण २ दिनभित्र उपलब्ध गराउन बिर्तामोडका नगरप्रमुख शिवाकोटीको आग्रह
Published:
by .बिर्तामोड । बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले बुधबार नगरका विभिन्न वडामा पुगेर वर्षाले पुर्याएको क्षतिको निरीक्षण गरेका छन् ।
आइतबार रातिदेखि परेको भारी वर्षाका कारण धानबालीमा पुगेको क्षतिको निरीक्षण गरिएको हो । नगरप्रमुख शिवाकोटीले बुधबार नगरका वडा नम्बर ३, ९ र १० सहित विभिन्न वडामा पुगेर निरीक्षण गरेका प्रेस संयोजक रमेश तिवारीले जनाएका छन् ।
बिर्तामोड वडा नम्बर ३ को करेलाबारी लगायतका क्षेत्रमा पुगेर अदुवा खोलामा आएको बाढीले पुर्याउन सक्ने क्षतिलाई रोक्न आवश्यक प्रक्रिया अघि बढाउने पनि उनले आश्वसन दिएका थिए । वर्षाका कारण धान खेतीमा ठूलो नोक्सानी भएको भन्दै नगरप्रमुख शिवाकोटीले सिङ्गो नगरपालिका स्तव्ध भएको जनाएका छन् ।
काटेको धान खेतमै डुवेको, पाक्न नपाउँदै सबै ढलेको देख्दा दुःख लागेको भन्दै नगरप्रमुख शिवाकोटीले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको र राहतको लागि सम्बन्धित निकायमा पहल गर्ने आश्वासन पनि दिएका छन् ।
नगरप्रमुख शिवाकोटीले नगरको दृष्टि पुग्न नसेकेको कुनै ठाउँमा भयावह अवस्था आएको भए नगरपालिका तथा आफूलाई सिधा सम्पर्क गर्नसमेत नगरबासीसमक्ष आग्रह गरेका छन् । उनले किसानलाई परेको दुःखका बेला आवश्यक सहयोग गर्न तथा आ–आफ्नो क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरेर २ दिन भित्रमा नगरपालिकामा बुझाउन वडाध्यक्षसहित जनप्रतिनिधिहरुलाई निर्देशन पनि गरेका छन् ।
बिर्तामोड नगरपालिका भित्र गरिएको खेतीपातीमा करिब १५ प्रतिशत पूर्ण र २५ प्रतिशत आंशिक क्षति पुगेको प्रारम्भिक अनुमान रहेको कृषि विकास शाखा प्रमुख राजेन्द्र कडरियाले बताएका छन् । यसवर्ष समय मै पानी परेकाले शतप्रतिशत खेतमा धान रोपाई भएको थियो । तर कात्तिके झरीले पाकेको धान, काटेर पाँजा फिँजाइएको धान पूर्णतः क्षति पुगेको पाइएको छ । यस्तै सागसब्जी बालीमा पनि पूरै क्षति भएको पाइएको छ ।
Comments