क्यान्सर पीडित भद्रपुरकी ९ वर्षीया बालिका बचाइदिन परिवारको अपील
Published:
by .भद्रपुर । हड्डीको क्यान्सर भएर बिरामी परेकी भद्रपुर नगरपालिका( ६ निवासी ९ वर्षीया बालिका कोमल कर्मकारलाई बचाई दिन उनका परिवारले अपील परेका छन् ।
क्यान्सर पीडित बालिका कोमलको उपचारमा हालसम्म ६ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । पूर्ण उपचारका लागि थप रकम चाहिने भएपछि उनका बुबा बुधकरण कर्मकारले आर्थिक सहयोग गरी छोरी बचाई दिन सबै समक्ष अपील गरेका हुन् ।
बालिका कोमलको छातीको करङको भित्री भागमा गाँठो पलाएको थियो । त्यसपछि परिवारजनले उनलाई उपचारका लागि भद्रपुरस्थित ओम साई पाथीभरा अस्पताल लगेका थिए ।
‘२०७७ साल साउनमा ओम साईमा गाठोको शल्यक्रिया गर्यो,’ उनका बुबा बुधकरणले भने, ‘शल्यक्रिया राम्रै भयो, गाँठोबाट निस्किएको मासुलाई क्यान्सर परीक्षणका लागि बिर्तामोड पठाइयो, तीन महिनापछि रिपोर्ट आउँदा बोन क्यान्सर भएको पुष्टि भयो ।’
‘छोरीलाई क्यान्सर भएको पुष्टि भएपछि परिवारमा बज्रपात आइपर्यो’ उनले भने, ‘छोरीलाई उपचारका लागि चितवन लैजानु पर्यो, अलिअलि बचत गरिएको पैसा छोरीको उपचार गराउँदा गराउँदै सकियो ।’
‘आफूसँग भएको रकम सकिएपछि साहु, आफन्तजन र केही साथीभाइसँग पनि आर्थिक सहयोग मागियो, त्यसले पनि पुगेन,’ उनले भनेका छन् । कोमललाई केमो चढाउन एकपटक चितवन पुर्याउँदा ३५ देखि ४० हजार खर्च हुन्छ । दसैपछि छोरीलाई चिकित्सकले लिएर आउनु भनेको थियो । पैसा नभएपछि चितवन पनि जानै नसकिएको बाबुको भनाई छ ।
बुधकरण बिर्तामोडमा एक पसलमा काम गरी परिवार पाल्दै आएका छन् । एक धुर जमिनसमेत नरहेको उनी परिवारसहित अरूको घरमा भाडामा बस्दै जसोत्यसो गुजारा चलाउँदै आएका थिए । उनले एक्सेल बैङ्कको एकाउन्ट नम्बर ००९०१०००१४४४३४०००००१ मा सहयोग रकम पठाइदिन सार्वजनिक रूपमै अपील गरेका हुन् । उनले थप कुरा बुझ्न ९८८६३७३७५९ नम्बरमा फोन गर्न पनि आग्रह गरेका छन् ।
Comments