Sajhamanch Archive

प्रदेश १ र बागमतीका मुख्यमन्त्रीहरु आचार्य र शाक्य विश्वासको मत लिँदै

Published: (Updated: ) in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार by .

झापा । नेकपा एमाले विभाजन पछि प्रदेश १ र बागमतीमा अल्पमतमा रहेको नेकपा एमालेको सरकारले विश्वासको मत लिनुपर्ने प्रावधानलाई प्रदेश संसदको कार्यसूचिमा राखिएको छ ।

मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भए ३० दिनभित्र विश्वासको मतका लागि प्रदेशसभासमक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ ।

जसअनुसार प्रदेश १ मा आज कात्तिक ५ गते मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभामा आफूलाई विश्वासको मत दिन प्रस्ताव राख्ने कार्यसूची बनाइएको छ ।

सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशनको तेस्रो बैठक शुक्रबार दिउँसो १ बजे बोलाएका छन् ।

निर्वाचन आयोगले एमालेका १० प्रदेश सांसद एकीकृत समाजवादीमा गएको निर्णय भदौ २५ मै गरेको थियो । उक्त निर्णयअनुसार मुख्यमन्त्री आचार्यले असोज २३ भित्रै विश्वासको प्रस्ताव राख्नुपर्ने थियो । तर मुख्यमन्त्री आचार्यले असोज २५ मा मात्रै विश्वासको मत लिने सूचना प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीलाई दिएका थिए ।

उता स्पष्ट अल्पमतमा रहेकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्तावमा छलफल सकिए पनि मत विभाजनका लागि १० कात्तिकको समय तोकिएको छ ।

सभामुख सानुकुमार श्रेष्ठले १० कात्तिकमा बस्ने बैठकमा विश्वासको मत प्राप्त गर्नेसम्बन्धी बाँकी प्रक्रिया पूरा गरिने बताएका छन् ।

संसद् सचिवालयले बिहीबार नै मत विभाजनसमेत गर्ने कार्यसूची बनाएको थियो । तर, अन्तिममा मत विभाजन प्रक्रिया अर्को बैठकमा गर्ने गरी बैठक स्थगित गरिएको छ ।

बागमतीमा सत्तारुढ एमालेले पार्टीको स्थानीय तहका अधिवेशन रहेकाले उपस्थित हुन नसक्ने भन्दै बैठक सार्न बुधबार मात्रै सभामुखलाई लिखित आग्रह गरेको थियो । तर, गठबन्धनका दलहरूले त्यसमा असहमति जनाएपछि सभामुखले बैठक स्थगित गरेनन् । बैठकमा एमाले भने उपस्थित भएन ।

बागमती प्रदेशमा अब एकीकृत समाजवादी र नेपाली कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *