कमल गाउँपालिकाको केरखामा स्त्रीरोग सम्बन्धी निःशुल्क स्वस्थ्य शिविर जारी
Published: (Updated: )
by .कमल । कमल गाउँपालिकाको आयोजना तथा सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा दुई दिने निःशुल्क स्वस्थ्य शिवर आजबाट यहाँ सुरु भएको छ ।
कमल गाउँपालिका वडा नंं ३ स्थित मदन आश्रित स्मृति क्याम्पसको सभाहलमा भएको शिविरमा महिलाको पाठेघरको क्यान्सर सम्बन्धी जानकारी र उपचार, आङ खस्ने समस्याको प्रतिरोधात्मक उपचार तथा परामर्श, स्त्रीरोग सम्बन्धी परीक्षण तथा पाठेघरको मुखको मयलको परीक्षण लगायत समस्या तथा रोगहरुको उपचार गरिने स्वस्थ्य शाखा प्रमुख ईन्द्र अर्यालले जानकारी दिएका छन् ।
गाउँघरका महिलाले आफ्नो समस्या परिवारमा भन्न लजाउने गरेकाले समस्या जटिल बन्दै गएको छ । विशेष गरी २५ देखि ६५ वर्षका महिलामा यस्तो समस्या बढी देखिने गरेको स्वस्थ्य शाखा प्रमुख अर्याल बताउँछन् । शिविरमा महिलामा देखिने विभिन्न प्रकारका रोग सम्बन्धी उपचार गर्नुका साथै परामर्श दिइने स्त्रीरोग विशेषज्ञ डाक्टर रीती लामिछानेले बताएकी छन् ।
आफ्नो गाउँपालिकाका धेरै महिलाहरु स्त्रीरोग सम्बन्धी समस्याबाट पिडीत भएको जानकारी आएकाले उहाँहरुको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले शिविरको आयोजना गरिएको अध्यक्ष मेनुका काफ्लेको भनाई छ । उनका अनुसार आफूलाई भएको समस्या परिवारमा खुलेर सुनाउन नसक्ने महिलाहरु तथा रोग लागेको थाहा पाएर पनि कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न नसक्ने वर्गका लागि लक्षित गरेर शिविर आयोजना गरिएको हो ।
पहिलो दिनको शिविरमा २०० जनाले स्वास्थ्य परीक्षण गराएको र शिविर भोलिसम्म सञ्चालन हुने स्वस्थ्य शाखा प्रमुख अर्यालले जानकारी दिएका छन् ।
Comments