नेकपा एमालेको नगर अधिवेशनः नेतृत्वका लागि उल्लेख्य आकांक्षी
Published: (Updated: )
by .बिर्तामोड । मुलुकका ७५३ वटै पालिकामा आज एकैदिन नेकपा एमालेले पालिका अधिवेशन आव्हान गरेअनुरुप झापाका १५ वटै पालिकामा निर्वाचनका कार्यहरु बाहेक अन्य कार्यहरु पूरा गरेको समाचारहरु प्राप्त भएका छन् । कतिपय पालिकामा सर्वसम्मत रुपमा गाउँ नगर कमिटी नै निर्वाचित भएको छ भने कतैकतै केही पदहरु सम्र्वसम्मत भएका छन् ।
पालिका अधिवेशनको मुख्य कार्य नेतृत्व चयनका लागि आज आकांक्षीहरु सूचिकरण गर्ने, भोलि सर्वसम्मतका लागि घनिभुत छलफल गर्ने र सोको भोलिपल्ट निर्वाचन कार्यक्रम बनाउने गरी जिल्ला पार्टी कार्यालयको सर्कुलर रहेको बुझिएको छ । सोही बमोजिम बिर्तामोड नगर किटीमा रहेर काम गर्न इच्छुकहरुको विभिन्न पदमा नाम सूचीकृत गरिएको छ ।
अधिवेशन हलले गठन गरेको निर्वाचन समितिका संयोजक डम्बरबहादुर देउजाका अनुसार नेकपा एमाले बिर्तामोड नगरकमिटीको १ जना अध्यक्ष पदका लागि १४ जनाले इच्छा व्यक्त गर्दै नाम लेखाएका छन् । यस्तै १ जना उपाध्यक्षका लागि ६ जना, १ जना सचिवका लागि ५ जना र २ जना उपसचिवका लागि १५ जनाले नाम लेखाएका छन् ।
आज सूचीकरण गरिएका आकांक्षीहरुसँग भोलि विभिन्न समय तालिकामा निर्वाचन समिति र अध्यक्ष मण्डल तथा पार्टी नेतृत्व बसेर छलफल गरी सर्वसम्मत नयो नेतृत्व चयन गरिने पार्टीका जिल्ला सचिवालय सदस्य एकराज कार्कीले जानकारी दिएका छन् ।
निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा विगतदेखि नै आकांक्षा राख्दै चर्चामा आएका पार्टी नेता कार्यकर्तादेखि अधिवेशन हलको माहोल तताउन इच्छा जाहेर गर्ने प्रतिनिधिहरुसम्मले नाम दर्ज गराएका छन् । जसअनुसार सुवास भट्टराई, उमानाथ ओली, नगेन्द्रप्रसाद संग्रौला, नन्दलाल खरेल, कृष्णप्रसाद मिश्र, मोहन शिवाकोटी, दुर्गाप्रसाद सिग्देल र भिष्मराज खरेलको नाम पहिलेदेखि नै चर्चामा थियो । उनीहरुले हलसमक्ष आफ्नो उम्मेदवारी रहने भनी नाम सूचीकृत गराएका छन् ।
यस्तै छत्रबहादुर श्रेष्ठ, सुरेन राजवंशी, उपेन्द्रप्रकाश ओली, अर्जुनकुमार मैनाली, छबिलाल बिक र छबिलाल खतिवडाले पनि अध्यक्ष बन्न आफू योग्य छु भन्ने दावी गर्दै नाम सूचीकरण गरेका छन् ।
नगर कमिटीको उपाध्यक्ष पदमा पुष्पा दाहाल, हरिप्रसाद चौंलागाईं, ताराप्रसाद चापागाईं, उर्मिला बिमली, तुलसा खरेल र कैलाशपति ओलीले अग्रसरता देखाएर नाम लेखाएका छन् । यस्तै सचिवका लागि शंकरराज ढुंगेल, किशोरकुमार पौडेल, शेखर कँडेल, राजु सिलवाल र रमेश खरेलले नाम टिपाएका छन् ।
निर्वाचन समितिसमक्ष सहसचिवको उम्मेदवार बन्न नाम टिपोट गराउनेहरुको संख्या ठूलो छ । कान्तिबहादुर कार्की, प्रदिप खरेल, केशवकुमार भण्डारी, सोहनलाल राजवंशी, पारस संग्रौला, डिल्लीराम सुब्बा सहसचिव बन्न अग्रसर भएका छन् ।
उनीहरुसँगै प्रकाश लिङ्देन, टहलदाश ओली, ओसिम तामाङ, अच्युत ओझा, मदन बुढाथोकी, अजयप्रकाश लिङ्देन, तिलक गजमेर, आरती श्रेष्ठ र बिनोद दंगालले पनि सहसचिव बन्ने आफ्नो योग्यता पुगिसकेको भन्ने दावी गर्दै नाम लेखाएका छन् ।
निर्वाचन समितिका अनुसार आकांक्षीहरुको आज नाममात्र टिपोट गरिएको तर मनोनयन भने दर्ता नभएको प्रष्ट पारेको छ । केवल पदका आकांक्षीहरु पहिचान गरी सर्वसम्मत नेतृत्व चयन गर्ने छलफलमा सहजताका लागि नाम टिपोट गरिएको जनाइएको छ ।
Comments