बागमतीका मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउलिन् ?
Published:
by .झापा । वाग्मती प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने कार्यतालिका बनाइएको छ ।
कात्तिक ४ गते बसेको प्रदेसभा बैठकमा मुख्यमन्त्री शाक्यले प्रस्तुत् गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव उपर छलफल भएको थियो । छलफलमा मुख्यमन्त्री शाक्यले सरकारले गरेको कामको फेहरिस्त प्रस्तुत गर्दै आफूलाई विश्वासको मत दिन आग्रही गरेकी थिइन् ।
मुख्यमन्त्री शाक्यले २४ असोजमा बसेको प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेकी थिइन् । २५ भदौमा नेकपा एमाले विभाजन भएपछि मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुपरेको हो ।
नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार तथा वाग्मती प्रदेशसभा नियमावलीको धारा १४३ को १ अनुसार शाक्यले विश्वासको मत लिनुपर्ने बाध्यता छ । आजको विश्वासको मतदानका लागि सत्तापक्ष र प्रतिपक्षका सांसद बस्ने छुट्टाछुट्टै कक्ष व्यवस्था गरिएको छ भने अधिकृतसहितका कर्मचारी खटाउने तयारी छ ।
वाग्मती प्रदेशसभामा १०९ जना सदस्य रहेका छन् । जसमा मुख्यमन्त्री शाक्यलाई आफ्नो पद जोगाउन ५५ सांसद चाहिन्छ । दल विभाजन हुनुपूर्व नेकपा एमालेमा ५६ सांसद थिए । तर, दल विभाजन भएर नेकपा (एस) बनेपछि १३ सांसदले एमाले परित्याग गरेका छन् । मुख्यमन्त्रीसँग हाल ४३ जना मात्र सांसदको साथ छ ।
यता, विपक्षी गठबन्धनतर्फ ५९ सांसद छन् । जसमा नेकपा माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टीका १ जना सांसद छन् ।
मुख्यमन्त्री शाक्यलाई विवेकशील साझाका ३ तथा नेपाल किसान मजदुर पार्टी (नेमकिपा) र राप्रपाका २–२ जना सांसद मत दिए पनि पुग्दैन । विवेकशीलले मत नदिने भनेको छ भने अन्य दुई दल मौन छन् । मुख्यमन्त्री शाक्य भदौ २ गते मुख्यमन्त्रीमा नियुक्त भएकी हुन् ।
अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाएर सरकार ढलेमा विपक्षी गठबन्धनका तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ ।
Comments