Sajhamanch Archive

पताल गंगा साकोसः डेढ करोड रुपैयाँ अपचलन गरी अध्यक्ष सम्पर्कविहीन भए पनि संस्था निरन्तर सञ्चालनमा

Published: in मुख्य समाचार, समाज, सहकारी by .

बिर्तामोड । सहकारी संस्थामा सञ्चालक समितिको जिम्मेवार व्यक्ति नै कार्यकारी प्रमुख भएर काम गर्दा यस्तो पनि समस्या आउँछ भन्ने उदाहरण यहाँस्थित पताल गंगा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रेवती खनालले प्रमाणित गरिदिएका छन् ।

सहकारी ऐन २०७४ उल्लंघन गर्दै संस्थाको कार्यकारी प्रमुख बसिरहेका अध्यक्ष खनालले कर्जा नीतिको प्रतिकुल हुनेगरी आफ्नो एकाघर परिवार र नाता सम्बन्धका व्यक्तिलाई ऋण लगानीको फर्जी कागज बनाएर एक करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको उपाध्यक्ष टंक भेटवालले बताएका छन् ।

साझामञ्चसँग कुरा गर्दै भेटवालले भनेका छन्, ‘हामी हाम्रा बचतकर्ता र शेयरधनीहरुको एक पैसा पनि तलमाथि हुने दिनेछैनौं । खनाल विरुद्ध जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दर्ता गरिसकिएकोले अब उनले स्वयम् बुझाउनु पर्छ कि त परिवारले तिर्नुपर्छ ।’

आफैं अध्यक्ष र कार्यकारी प्रमुख रहेका खनालले विभिन्न बैंकमा आफ्नो हस्ताक्षर अनिवार्य हुनेगरी संस्थाको नाममा उपाध्यक्ष टंक भेटवाल र क्यासियर गंगा सापकोटामध्ये कोही एकको हस्ताक्षर चल्ने गरी खाता खोलेका थिए । खजाञ्ची सापकोटालाई पहिले नै धेरैवटा खाली चेकमा सही गराएर खनालले नै चेकबुक राख्ने गरेकोले उनले केही समय अघिदेखि नै नियत बिगारेको कर्मचारीहरुको अनुमान छ ।

गत भदौ २३ गतेदेखि संस्थाको सम्पर्क बाहिर रहेका खनालको कार्यकालमा भए गरेको वित्तीय कारोबारको लेखा परीक्षण गर्दा १ करोड ५४ लाख ८२ हजार १८ रुपैयाँ ३५ पैसा हिनामिना भएको पाइएको उपाध्यक्ष भेटवालले जनाएका छन् । ‘खनालको परिवार र आफन्तले उनी काम विशेषले काठमाडौं गएकाले अहिले नै भागेको भन्ने जस्तो गलत प्रचार नगरिदिन आग्रह गरेपछि हामी करिब एक महिना आन्तरिकरुपमा हिसाब किताब गर्न र सदस्यहरुलाई आश्वास्त पार्न ब्यस्त भयौं’ उपाध्यक्ष भेटवालले थपेका छन्, ‘अब त प्रहरीमा नै उजुरी दिइसकेकाले सञ्चार माध्यममा यथार्थ कुरा राख्न चाहेका हौं र खनाललाई पक्राउ गरी प्रहरीले छानबिन गर्नेमा संस्था परिवार ढुक्क छ ।’

बनियानी वा भद्रपुरमा स्थायी घर बताएर बिर्तामोडमा डेरा बस्दै आएका खनालले किराना पसल पनि सञ्चालन गरेका छन् । उनको पसल श्रीमतीले चलाउने गरेको बुझिएको छ । उनका भाइले पनि इटहरीमा ठूलो लगानीमा पसल खोलेका छन् । त्यहाँ पनि रेवतीले लगानी गरेको हुनसक्ने संस्था सञ्चालकहरुको भनाई छ । यतिमात्र होइन, भाइको विवाह पछि केही महिनामा नै डिभोर्स भएकाले दुलही पक्षलाई १५ लाख रुपैयाँजति जीवन निर्वाहा खर्च दिनका लागि पनि कार्यकारी प्रमुख रहेका खनालले पदको दुरुपयोग गरेको आशंका सञ्चालकहरुले गरेका छन् ।

झापा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका लेखा समिति संयोजक समेत रहेका खनालले कोरोना महामारीको समयमा संस्थाको बैठक बस्न नदिई मनोमानी गरेको सञ्चालकहरुको जिकिर छ । बैठक बसौं भनेर सल्लाह गर्दा कोरोना छ अहिले नबसौं भन्दै उनी प्रस्ताव टार्ने गर्दथे ।

उपाध्यक्ष कटवालका अनुसार कोरोनाकालमा संस्थामा पर्याप्त तरलता नहुँदा जिल्ला सहकारी संघबाट एक करोड रुपैयाँ कर्जा लिइएको थियो । सोही कर्जा रकमबाट चेक काट्दै भुक्तानी लिएर आफैंले चलाएको स्टेटमेन्ट हेर्दा थाहा पाइएको उनले बताए । संस्थाले कर्जा लगानी थप गरी संस्थाको आम्दानी वृद्धि गर्ने सोच बनाएर जिल्ला संघबाट ऋण लिएको थियो तर कार्यकारी प्रमुखले अपचलन गरेकाले सञ्चालकहरु आफ्नै रकम जम्मा गरेर संस्थाको साख बचाउन लागिपरेका छन् ।

‘हामी भागेका छैनौं, भाग्दैनौं । मेरै घरमा कार्यालय छ, जसरी पनि यसलाई निरन्तरता दिनेछौं । सदस्यको रकम हिनामिना हुनदिने छैनौं । एउटा ब्यक्तिले गल्ती गर्यो भन्दैमा सिङ्गो संस्थाको बदनाम गर्न मिल्दैन । एउटा सहकारीको कार्यकारी प्रमुखले फटाईं गर्यो भन्दैमा सिङ्गो सहकारी अभियान आलोचित हुनुहुँदैन’ उपाध्यक्ष कटवालले प्रष्ट भाषामा भनेका छन्, ‘खनालले अपचलन गरेको रकम उनी स्वयम्बाट वा उनको परिवारबाट जायजेथा बेचेर भए पनि उठाउँछौं ।’

साझामञ्चको टिम पताल गंगाको कार्यालयमा पुग्दा कर्मचारीहरु नियमित काममा थिए भने सेवाग्राहीहरु फाट्टफुट्ट पुगेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *