Sajhamanch Archive

क्षयरोग उन्मूलनको प्रयासलाई पुनः गति दिने स्वास्थ्य मन्त्रीहरूको प्रतिबद्धता

Published: in राष्ट्रिय समाचार, विश्व समाचार, स्वास्थ्य by .

नयाँ दिल्ली । विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसिया क्षेत्रका देशका स्वास्थ्य मन्त्रीहरूले क्षयरोग उन्मुलन प्रयासहरूलाई पुनः गति दिने प्रतिबद्धता जनाएका छन् । कोरोना महामारीका कारण क्षयरोग उपचार सेवाहरूमा आएका गतिरोध र पहिले नै उच्च भार भएका क्षेत्रमा रोगका घटनामा भएका वृद्धिलाई ध्यानमा राख्दै उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

क्षयरोग प्रतिकार्यको पुनःथालनीका लागि उच्चस्तरीय बैठक सुरु भएको हो । सो बैठकलाई सम्बोधन गर्दै विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोमले क्षयरोग रोकथाम तथा उपचार गर्न सकिने रोग भए पनि यसले हरेक वर्ष १० लाखभन्दा बढी मानिसको ज्यान लिइरहेको बताएका छन् । तीमध्ये झन्डै आधा मृत्यु दक्षिणपूर्वी एसिया क्षेत्रमा हुने गरेकाले क्षयरोग उन्मूलनको प्रयासलाई तीव्र बनाउनु पर्ने उनले औंल्याएका छन् ।

बैठकको उद्घाटनका अवसरमा विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसिया क्षेत्रका क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले क्षयरोगको रोकथाम, निदान र उपचार सेवालाई विस्तार गर्न तत्काल कदम चाल्नु पर्ने बताइन् । विशेषगरी जोखिममा रहेका जनसङ्ख्यामा हुने कुपोषणलाई सम्बोधन गर्दै सामाजिक सुरक्षाका उपायहरूलाई बलियो बनाउनु आवश्यक हुने उनको भनाई छ ।

मंगलबार दिनभरको भर्चुअल बैठकमा स्वास्थ्य मन्त्रीहरूले आवश्यक कार्यक्रमहरू ठोसरूपमा कार्यान्वयन गर्दै यसलाई गति दिन ‘मन्त्रीस्तरीय प्रतिबद्धता पत्र’मा सर्वसम्मत हस्ताक्षर गरे । यस बैठकको आयोजना भारत, इन्डोनेसिया र नेपालका स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालयले संयुक्त रूपमा गरेका हुन् ।

मन्त्रीहरूले उच्चतम राजनीतिक तहको नेतृत्वमा राष्ट्रिय कार्यक्रमहरूमार्फत क्षयरोग उन्मूलन गर्न बहुक्षेत्रीय र सम्पूर्ण समाजलाई संलग्न गराउने पद्धति अपनाउने र लक्ष्यहरूलाई सूक्ष्मरूपमा अनुगमन गर्ने प्रतिवद्धता जनाएका छन् ।

उनीहरूले कोभिड–१९ को महामारीका बेला गुमाएको आधारमा फर्कन आवश्यक पर्ने अग्रिम लगानीलगायत बजेट र जनशक्ति विनियोजन वृद्धि गर्न सहमती पनि जनाएका छन् । यस क्षेत्रमा क्षयरोगको उन्मूलन गर्न आवश्यक वृहत्तर कार्यक्रमहरू कार्यान्वयन गर्न वार्षिक ३ अर्ब डलर आवश्यक पर्ने अनुमान गरिएको छ ।

मन्त्रीस्तरीय प्रतिवद्धता पत्रमा अधिकारमूलक, लाञ्छनामुक्त, गुणस्तरीय र जनकेन्द्रित सेवाको उच्चतम मापदण्ड सुनिश्चित गर्न आह्वान गरिएको छ । यसले आप्रवासी, कैदी, बालबालिका, वृद्ध र क्षयरोग तथा एचआइभी दुवै संक्रमण भएका उच्च जोखिममा रहेका जनसङ्ख्या लगायत सबैका लागि रोकथाम, निदान, उपचार, पुनस्र्थापन र प्रशामकमूलक उपचार पहुँचयोग्य हुनुपर्छ भन्ने कुरामा जोड दिएको छ ।

प्रतिबद्धता पत्रमा सबै सम्भावित स्वास्थ्य केन्द्रहरूमा सेवाहरू सुदृढ गर्दै उपचारको पहुँच बढाउन र पहुँच नपुगेकाहरूसम्म पुग्न डिजिटल स्वास्थ्य र प्रविधिको प्रभावकारी प्रयोगजस्ता नवीन उपचार तथा सेवा पद्धतिहरू प्रयोग गर्न आह्वान गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *