Sajhamanch Archive

एमाले अर्जुनधाराको अध्यक्षमा गोम्देन विजयी

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by .

अर्जुनधारा । नेकपा एमाले अर्जुनधारा नगर कमिटीको अध्यक्षमा बलदेव गोम्देन निर्वाचित भएका छन् । आज सम्पन्न मतदानको गणना गर्दा ११७ मत प्राप्त गरी गोम्देन विजयी भएका हुन् ।

वडा नं. १० का वडाध्यक्ष गोम्देन र वडा नं. ६ का वडाध्यक्ष लोकनाथ गौतम पार्टीको नगर कमिटी अध्यक्षका लागि चुनावी मैदानमा थिए । अर्जुनधाराको नगर अधिवेशनमा २२९ जना नगर अधिवेशन प्रतिनिधि रहेकोमा १०२ जनाले गौतमलाई मतदान गरेका छन् ।

सहमतिका लागि लामो समय छलफल गर्दा पनि गोम्देन र गौतमले अध्यक्ष पदको अडान नछाडेपछि निर्वाचन भएको थियो । अध्यक्ष पदका अर्का आकांक्षी वर्तमान अध्यक्ष प्रेमसागर सापकोटाले भने सहमतिका लागि भन्दै उम्मेदवारीबाट नाम फिर्ता लिएका थिए ।

यस्तै, उपाध्यक्ष र दुई सहसचिव पदमा पनि निर्वाचन भएको छ । उपाध्यक्ष पदमा ६ जनाको उम्मेद्वारी परेको थियो । सहमतिका लागि प्रयास गरे पनि आकांक्षीहरु खगेन्द्र इङ्नाम र लोकमान श्रेष्ठले उपाध्यक्षमा दावी प्रस्तुत गरिरहँदा निर्वाचन भएको हो । निर्वाचनबाट श्रेष्ठले विजय प्राप्त गरेका हुन् ।

सचिव पदमा तीनजनाले दाबेदारी प्रस्तुत गरेकोमा सहमतिबाट लवकुश गौतमलाई जिम्मेवारी दिइएको छ । यसैगरी, दुई उपसचिव रहने विधान बमोजिम जनकलाल चम्लागाई निर्विरोध चयन भएका छन् ।

विधानमा पदाधिकारीमा एकजना महिला अनिवार्य रहनुपर्ने प्रावधान भएकाले उपसचिव पदमा निर्वाचन भएको छ ।उपसचिव पदमा कमलादेवी भण्डारी र सरिता भण्डारीले प्रतिष्पर्धा गरेकोमा सरिता भण्डारी विजयी भएको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *