लक्ष्मीपूजाको दिनदेखि शिखर साकोस आफ्नै भवनमा
Published:
by .बिर्तामोड । स्थापनाको १० वर्षमात्र पूरा गरेको बिर्तामोडस्थित शिखर बचत तथा ऋण सहकारी संस्थाले सदस्यप्रति उत्तरदायी सेवा प्रवाह गरेको प्रतिफल स्वरुप कात्तिक १८ गतेदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्ने भएको छ ।
आज बुधबार नयाँ भवनमा नै पत्रकार सम्मेलन गरेर संस्थाका अध्यक्ष दिपेन्द्र राउतले बिहीबार बिहान १० बजे प्रदेश सहकारी रजिष्ट्रार बलराम निरौलाले संस्थाको भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिएका हुन् ।
२९२ दशमलव २० वर्गमिटर अर्थात् १७ दशमलव २७ धुर जमिनसहित साढे तीन तलाको भवन २ करोड १८ लाख ४० हजार रुपैयाँमा खरिद गरेर संस्थाले त्यसको पुनःसंरचना पछि उद्घाटन गर्न लागिएको पत्रकार सम्मेलनमा जनाइएको छ । आफ्नै भवनबाट सदस्यहरुलाई अझ बढी सेवा दिने बताउँदै अध्यक्ष राउतले स्थानीय युवाबाट संचालित शिखर साकोस सुरुवातबाटै बिर्तामोड क्षेत्रमा अलग पहिचानका साथ स्थापित भएको जिकिर गरेका छन् ।
झापा जिल्लाको कनकाई माई नदीपूर्व कार्यक्षेत्र रहेको सो संस्थामा २०७८ असोज मसान्तसम्म ७ हजार ८४६ जना शेयर सदस्य रहेका छन् । संस्थाको शेयर पुँजी ५ करोड ४५ लाख ६९ हजार ५०० रुपैयाँ रहेको छ भने निक्षेपमा ६९ करोड ५५ लाख २० हजार ५२७ रुपैयाँ रहेको जनाइएको छ ।
संस्थाले ६८ करोड ९७ लाख ३६ हजार ३०७ रुपैयाँ कर्जा लगानी गरेको छ भने कोषमा ४ करोड ९ लाख ३८ हजार ६६८ रुपैयाँ रहेको अध्यक्ष राउतले जनाएका छन् । २०७८ असार मसान्तमा संस्थाको नाफा १ करोड ४२ लाख ३३ हजार १०९ रुपैयाँ रहेको पत्रकारहरुमाझ वितरित विज्ञप्तीमा उल्लेख छ ।
‘प्रविधिमा हामी एक कदम अगाडिी’ भन्ने नारालाई सार्थक बनाउँदै शिखर साकोसले सदस्यहरुलाई मोवाईल बैकिङ्गमा प्रोत्साहन गर्न लक्ष्मी पूजाको दिनबाट बैक ट्रान्सफरमा लाग्ने शुल्क निशुल्क गरिएको अध्यक्ष राउतले जानकारी दिए । शिखर एम बैकबाट प्रतिकारोबार १ लाख गर्न सकिने र दैनिक २ लाखसम्म मोवाईलबाट रकम बैंकमा ट्रान्सफर गर्न सकिने उनको भनाई छ ।
साथै उनले अत्याधिक सुविधासम्पन्न भवन बनाएसँगै सदस्यहरुको मागलाई ध्यानमा राखेर नेपालमा नै पहिलो पटक सहकारीमा लकर सुविधा ल्याएको बताए । ६० वटा लकरबाट सेवा प्रारम्भ गरिएको उनको भनाई छ ।
पत्रकार सम्मेलनको प्रारम्भ संस्थाका सचिव हिमालय प्रसाईंले गरेका थिए ।
Comments