Sajhamanch Archive

भद्रपुरस्थित मेची घाटमा छठपूजाको तयारी भव्य

Published: in प्रदेश तह, मुख्य समाचार, समाज, by .

भद्रपुर । प्रदेश १ को सर्वाधिक सहभागिता रहने छठपूजा स्थल भद्रपुरस्थित मेची नदीमा यो वर्ष भव्यरूपमा छठपूजा गरिने तयारी भएको छ ।

मिथिलाञ्चलबासीको महत्वपूर्ण पर्व मानिए पनि भद्रपुरको मेची किनारमा हिमाली, पहाडी, मारवाडी, बंगाली लगायत सम्पूर्ण जातजातिको साझा प्रतिनिधित्व हुनेगरी समावेशीरूपमा छठपूजा गरिने भएको हो । नेपाल–भारतको सिमावर्ती क्षेत्रमा पर्ने झापाको भद्रपुरस्थित मेची नदीमा छठपूजाका लागि ३ किलोमिटर क्षेत्रमा नदीको वारिपारी झण्डै ५ हजार पूजास्थल निर्माण गरिएको छ ।

दशकौंदेखिको पूजास्थलको पहिचान बनाएको मेची घाटमा गत वर्ष कोरोना महामारीका कारण पूजाका सम्पूर्ण विधि रोकिएका थिए । कात्तिक शुक्ल पष्टीको बेलुका र सप्तमीको दिन बिहान घाटमा गएर पूजा गरिने छठपर्व यो वर्ष कात्तिक २४ र २५ गते मनाइनेछ ।

पूजास्थलका लागि नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त गस्ति गर्नेछन् भने विगत वर्षहरूमा जस्तै नेत्रज्योति समाज लगायत सामाजिक संघ–संस्थाले मेलामा सहभागी भक्तजनका लागि पानी तथा चियाको व्यवस्था गर्ने जनाइएको छ ।

पछिल्ला वर्षहरुमा भद्रपुर तथा भारतको गलगलियाबासीले यस पर्वलाई समावेशी साझा पर्वको रूपमा लिने गरेको पाइएको छ । चार दिनसम्म मनाइने छठ पर्वमा तेस्रो दिन बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिने र चौथो दिन बिहान उदाउँदो सूर्यलार्य अर्घ चढाएपछि सम्पन्न हुन्छ ।

नेपालको जनकपुर धाम पछिको ठूलो पूजास्थलका रुपमा भद्रपुरले लिने गरेको मैथिल समाजका पूर्व अध्यक्ष रमेशचन्द्र झाले जानकारी दिएका छन् । उनका अनुसार भद्रपुरको पूजा अवलोकन गर्न एक लाख हाराहारी मानिस सहभागी हुने गरेको इतिहास छ ।

सहज अवलोकन र व्यवस्थित मण्डपका लागि पूजाको व्यवस्थापनलाई एक साता अघिदेखि नै आयोजकले तीब्रता दिइरहेको छ । नेपालका मात्र नभएर भारतको विहार तथा बंगाल राज्यका ब्रतालु भक्तजनहरु यसै नदीमा छठपूजा गर्दै आएकाले भद्रपुरको छठ पर्वको छुटै विशेषता रहने गरेको छ ।

यसको व्यवस्थापनका लागि मैथिली समाज भद्रपुर आयोजकका रुपमा रहेको छ भने भद्रपुर नगरपालिका संरक्षक तथा विभिन्न सामाजिक संघ–संस्था तथा राजनीतिक दलहरु सहयोगी निकायका रूपमा रहने गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *