टेलिभिजन पत्रकार तामाङको उपचार सहयोगार्थ प्रादेशिक सञ्चार प्रतिष्ठानले ६५ हजार रुपैयाँ प्रदान गर्ने
Published: (Updated: )
by .बिराटनगर । झापाको सूर्योदय टेलिभिजनमा आवद्ध पत्रकार तिलक योञ्जन तामाङको उपचार सहयोगका लागि प्रादेशिक सञ्चार प्रतिष्ठानले ६५ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यको अध्यक्षतामा तिहार अघि बसेको प्रतिष्ठानको बोर्ड बैठकले उक्त निर्णय गरेको कार्यकारी निर्देशक यज्ञ शर्माले बताएका छन् ।
टेलिभिजनमा बेलुकीको सिफ्टमा समाचार वाचन गरी अर्जुनधारा २ खुदुनाबारीमा रहेको आफ्नो घर जाने क्रममा भदौ २ गते साँझ ८ बजे उनी मोटरसाइकल दुर्घटनामा परेका थिए । शनिश्चरे बजार नजिकै भएको मोटरसाइकल दुर्घटनाबाट उनको खुट्टा भाँचिएको थियो ।
खुट्टाको हड्डीलाई पूर्ववत अवस्थामा ल्याउन करिब ७ घण्टा लामो शल्यक्रिया गर्नुपरेको उनले जनाएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गरेर हाल करिब साढे तीन महिनादेखि बेड रेष्टमा रहेका तिलक विपन्न परिवारका सदस्य हुन् ।
घाइते पत्रकार तामाङको वर्तमान अवस्थाका बारेमा प्रादेशिक सञ्चार प्रतिष्ठानका सञ्चालक सदस्य गोपाल काफ्लेले बैठकमा जानकारी गराउँदै नियमावली २०७७ को दफा १६ बमोजिम रकम सहयोग गर्नुपर्नेमा जोड गरेका थिए । नियमावली अनुसार नै हुनेगरी प्रस्ताव आएकाले पत्रकार सुरक्षा कोषबाट खर्च लेख्ने गरी ६५ हजार रुपैयाँ सहयोग प्रदान गर्ने बैठकले निर्णय गरेको जनाइएको छ ।
पत्रकार तामाङ हिंडडुल गर्नसक्ने अवस्थामा नरहेकाले उनको बैंक खातामा रकम पठाउने ब्यवस्था मिलाइने पनि कार्यकारी निर्देशक शर्माले जनाएका छन् ।
Comments