Sajhamanch Archive

प्रदेश १ को नामकरण बहुपहिचानको आधारमा : मुख्यमन्त्री राई

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति by .

धनकुटा । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश १ को नामकरण बहुपहिचानको आधारमा गर्ने आफूहरुको पूर्ववत अडान कायम रहेको बताएका छन् ।

नामकरणको प्रस्ताव पारित गर्न दुई तिहाई चाहिने भएकाले आजको दिनमा मुख्य साँचो नेकपा एमाले रहेको पनि उनको भनाई छ । एमालेको साथ बिना नामाकरणको सन्दर्भ अनिश्चित रहेको मुख्यमन्त्री राई बताउँछन् ।

प्रदेश १ मुख्यमन्त्रीको सम्पर्क कार्यालय धनकुटामा आयोजित संक्षिप्त पत्रकार भेटघाटमा उनले उक्त कुरा बताएका हुन् । बहुपहिचानका आधारमा नामकरण तोकिने बारेमा नेकपा समाजवादीसहित गठबन्धन दलको निष्कर्ष रहेको उनको भनाई छ ।
तर पनि दुई तिहाइबाट प्रस्ताव पारित गर्न एमालेको साथ मुख्य रहेको राईले प्रष्ट पारेका छन् ।

विगतका मुख्यमन्त्रीले नामकरणका लागि सहज अवस्थामा प्रस्तावमा समेत अघि नसारेको भन्दै उनले आफूले प्रदेशसभामा नाम प्रस्तावको लागि अघि सार्ने बताए । ‘नामकरणको लागि प्रदेशसभामा नाम प्रस्ताव गर्ने योजना छ’ उनले भने ।

नामकरण प्रस्ताव आगामी हिउँदे अधिवेशनमा अघि सार्ने योजनामा रहेका राईले त्यसअघि एमालेलगायत दलहरूसँग छलफल गर्ने उल्लेख गरे । यसअघि बहुपहिचानको नाराबाट एमाले पछि सरेकोले कोसी प्रदेशमा अडिग रहेको प्रसंग जोड्दै राईले आफूहरू बहुपहिचानबाट पछि हट्न नसक्ने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *