Sajhamanch Archive

‘राजनीति पनि संविधान र कानून बमोजिम चल्नुपर्छ’ : नेम्वाङ

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by .

झापा । तत्कालीन संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्बाङले देउवा नेतृत्वको वर्तमान सरकारले संसदलाई काम बिहीन बनाएको आरोप लगाएका छन् ।

‘सरकारले विजनेश नदिए संसद चल्न सक्दैन, आफू पनि काम गर्दैन, संसद् र न्यायालयलाई पनि काम गर्न दिइएन’ नेकपा एमाले संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले गठबन्धन सरकारले काम गर्न नसकेको दावी गर्दै भने ‘संसद् आफैले काम गर्ने होइन, सरकारले कुनै बिजनेस दिन सकेन ।’

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस)को २५औं वार्षिक साधारणसभाको उद्घाटन समारोहमा बोल्दै नेम्वाङले उक्त धारणा राखेका हुन् । सहकारी अभियानमा राजनीतिक विषय उठान गर्नु युक्तिसंगत नहुने सन्दर्भ स्मरण गर्दै नेम्बाङले भने ‘राजनीति पनि त संविधान र कानून बमोजिम चल्नुपर्छ होइन र ?’

सर्वोच्च अदालत ठप्प भइरहेको वर्तमान अवस्थितिका सम्बन्धमा नेता नेम्बाङले को भनाई छ ‘प्रधानन्यायाधीशले सर्वोच्च अदालतको पछाडिको ढोकाबाट छिरेर काममा जानुपर्ने अवस्था आउनु दुखद हो ।’ उनले सरकार काम नलाग्ने भएपछि यस्तो अवस्था आएको पनि जिकीर गरे ।

सहारा नेपालका हजारौं सदस्यका अघिल्तिर उभिएर तत्कालीन संविधानसभाका अध्यक्ष नेम्बाङले भने, ‘सहाराले नसोचेको उपलब्धी हासिल गरेको रहेछ । पशुलाई सुत्केरी भत्ता, लोपोन्मुख एवम् विपन्न वर्गका विद्यार्थीलाई एमबिबिएस पढाउनेजस्ता सुन्दै गज्जब लाग्ने कार्यक्रमले मेरो ध्यान खिचेको छ । म पनि सहारा नेपालको कार्यक्षेत्र भित्रकै इलाम जिल्लाको बासिन्दा भएकाले संस्थाको सदस्य बन्न इच्छुक छु ।’

सहकारी ऐन २०४८ बनाउँदा कानून विज्ञका रुपमा काम गरेर सहकारीसँग जोडिएको स्मरण गर्दै एमाले नेता नेम्बाङले सहकारी विज्ञ केशव बडाललाई सहाराले राष्ट्रिय व्यक्तित्व सम्मान गरेर न्याय गरेको पनि बताए ।

साधारणसभा उद्घाटन समारोह राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशवप्रसाद बडाललाई संस्थाले एक लाख एक हजार रुपैयाँसहित कदरपत्र प्रदान गरेर राष्ट्रिय व्यक्तित्व सम्मान गरेको हो । उक्त कदरपत्र, सम्मान र पुरस्कार रकम बडालको अनुपस्थितिमा मिनराज कडेललाई हस्तान्तरण गरिएको थियो ।

सो समारोहमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले राजनीति र सहकारीबीच हातेमालो गर्नुको विकल्प नरहेको बताएका छन् । राजनीतिक विधिबाट पूरा हन नसकेका धेरै कामहरु सहकारीबाट सम्पन्न गर्न सहयोग पुग्ने कडेलको भनाई छ ।
सहारा नेपालले गरेका कामहरु रचनात्मक एवम् अनुकरणीय रहेको बताउँदै बिग मर्जरको अवधारणालाई कार्यरुप दिन सहकारी अभियन्ता अग्रसर हुनुपर्ने सुझाव दिए ।

साधारणसभा उद्घाटन समारोहमा नेपाली कांग्रेसका झापा सभापति उद्धब थापा, नेकपा एमालेका झापा अध्यक्ष चिन्तन पाठक, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष केशवप्रसाद ओझा र झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले सहकारी अभियान, सामाजिक क्षेत्र तथा राजनीतिक विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

साधारणसभामा संस्थाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी

सहारा नेपाल साकोसका कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौलाको अध्यक्षतामा सम्पन्न साधारणसभामा कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले नीति तथा कार्यक्रम माथि प्रकाश पारेका थिए । साधारणसभा समारोहको सञ्चालन पत्रकार केशव भट्टराईले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *