Sajhamanch Archive

प्रगतिपथमा नवोदय सहकारी : गत आवमा पौने ५ करोड नाफा

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by .

कमल । नवोदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २३औं वार्षिक साधारणसभा मंसीर ५ गते सम्पन्न गर्ने गरी आजबाट सेवा केन्द्र स्तरको साधारणसभा सुरु गरेको छ ।

सेवा केन्द्र स्तरीय साधारणसभाको क्रममा आज मुख्य कार्यालय केर्खामा स्थानीय सेयर सदस्यमाझ साधारणसभा सम्पन्न गरेको हो ।

सो साधारणसभामा संस्थाका व्यवस्थापक फणिन्द्रबहादुर कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक वर्षमा ४ करोड ८० लाख ५६ हजार १७७ रुपैयाँ खुद नाफा गरेको जनाए ।

कमल गाउँपालिका वडा नं. ३ केर्खामा मुख्य कार्यालय रहेको नवोदय सहकारीको स्थापना २०५५ सालमा २७ जना व्यक्ति मिलेर १३ हजार ५०० रुपैयाँ संकलन गरी भएको थियो । भाडाको एउटा सानो कोठाबाट सेवा सुरु गरेको सो सहकारीले आजसम्म आइपुग्दा ३ कठ्ठा ११ धुर जमिनसहित चारतले पक्की भवन निर्माण गरी मुख्य कार्यालय सन्चालनमा रहेको छ ।

संस्थामा हाल १६ हजार ३८ जना सेयर सदस्य बनेका छन् भने शेयर पुँजी १२ करोड १३ लाख १५ हजार ७०० रुपैयाँ पुगेको अध्यक्ष शरणकुमार पराजुलीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

सेवा केन्द्र स्तरीय साधारणसभा कार्यक्रममा कमल गाउँपालिका वडा नम्वर ३ का वडाध्यक्ष नरप्रसाद दंगाल, सल्लाकार समितिका संयोजक दिलिपकुमार चापागाईं, संस्थापक सदस्य लैनबहादुर पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष बलराम गजुरेलले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *