विपद् व्यवस्थापनमा सामुहिक प्रयासको खाँचो : मन्त्री कार्की
Published:
by .ओखलढुंगा । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले विपद् व्यवस्थापन सरकार एक्लैले गर्न नसक्ने दोहोर्याएका छन् । यसको रोकथामदेखि उद्धार तथा राहतमा सर्वपक्षीय समन्वय हुनुपर्नेमा कार्कीको जोड छ ।
जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुसँग आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री कार्कीले संघीय, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा विपद् न्यूनीकरण र राहत तथा उद्धारमा प्रभावकारी काम गर्न सकिने बताए ।
मन्त्री कार्कीले सुरक्षाकर्मी, स्थानीय र सरकारी प्रतिनिधिको साझा प्रयासमा जोड दिंदै नगरपालिकाका नगर प्रहरीहरूलाई समेत तालिम दिएर उद्धारमा परिचालन गर्न सकिने जिकिर गरे । मन्त्री कार्कीले आन्तरिक मामिला मन्त्रालयले विपदमा पर्ने संभावित क्षेत्रको म्यापिङ गराएर उपलब्ध साधन स्रोतको परिचालन र वितरणका निम्ति अन्य मन्त्रालयहरू सँग समन्वय गर्ने पनि बताएका छन् ।
जनप्रतिनिधि र दलका नेतृत्व पनि समाजको सदस्य नै भएकोले उनीहरूको आचरण तथा व्यवहार सोहीअनुरूप हुने भन्दै गलत काम गर्न नदिन जनताले झक्झक्याउनु पर्ने मन्त्री कार्कीले आवश्यकता औंल्याए । त्यस अवसरमा ओखलढुङ्गाका सहायक प्रजिअ अर्जुन कुमार मण्डलले जिल्लामा विपदबाट हुने गरेको क्षति र बचाउ सम्बन्धी भए गरेका कामबारे जानकारी गराएका थिए ।
कार्यक्रममा ओखलढुङ्गाक विभिन्न पालिकाका प्रमुख उपप्रमुख, रेडक्रस, विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।
Comments