केर्खामा डेंगुको लार्भा नष्ट गर्ने अभियान सुरु
Published:
by .कमल । कमल गाउँपालिकाले डेंगु लगायतका किटजन्य रोगहरुको नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सुर गरेको छ ।
डेंगु रोग भाईरसबाट हुने एडिस एजिप्टाई जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट सर्ने संक्रामक सरुवा रोग हो । यो रोग सार्ने लामखुट्टेको बासस्थान पत्ता लगाई लार्भा नष्ट गर्ने अभियानमा गाउँपालिकाको स्वास्थ्य शाखाका सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधि टोली बनाएर फिल्डमा खटिएका हुन् ।
खोजी गरिएका स्थानमध्ये अहिलेसम्ममा वडा नं. ३ को केर्खामा रहेका मोटरसाइकल ग्यारेजमा डेंगु रोग लगाउने एजिप्टाई जातको लामखुट्टेको लार्भा फेला परेको र त्यसलाई नष्ट गरेको गाउँपालिकाको स्वस्थ्य शाखा प्रमुख इन्द्र अर्यालले जानकारी दिएका छन् ।
डेंगु रोगबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नु नै पहिलो उपाय हो । यसका लागि लामखुट्टेको बृद्धि रोक्नु अनिवार्य हुन्छ । थोरै र सफा पानी जम्न सक्ने भाँडा, गमला, फूलदानी, टायर, खाली ड्रमजस्ता सामग्रीमा पानी जम्न नदिनु प्रारम्भिक सावधानी भएको स्वास्थ्य शाखा प्रमुख अर्याल बताउँछन् ।
यसरी नै पानीको टंकीमा लामखुट्टे प्रवेश गर्न नदिने, कुलर र एसी बक्समा रहेको पानीमा प्रत्येक हप्ता एक–दुई चम्चा मट्टितेल हालिदिने र गमलाको पानी हप्तामा कम्तीमा दुई पटक फेर्नुपर्ने लगायतका कुरामा ध्यान दिनसके लामखुट्टेको टोकाईबाट बच्न सकिने अर्यालले सुझाव दिएका छन् ।
Comments