Sajhamanch Archive

दोमुखाका ५० परिवारको दिनचर्या गिटी ढुंगाको काममा बित्छ

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, by .

झापा (दोमुखा) । कनकाई माइको बगरमा ढुंगा बटुलेर तथा गिटी चालेर ८० भन्दा धेरै परिवारहरुले आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । तीमध्ये आधाउधि त त्यही काम गरेर जीवन बाँच्न अन्य ठाउँबाट यहाँ आएकाहरु छन् । गिटी चालेर उनीहरुले आफ्नो घर परिवारमात्र पालेका छैनन् बरु छोराछोरीलाई निजी विद्यालयमा पठाउन पनि सामथ्र्य भएका छन् ।

झापाको माइधार, शिवगञ्ज, मोरङ्ग लगायत ठाउँबाट पनि यहाँ बालुवाको काम गर्न आएको उनीहरु बताउँछन् । केही सीप नभएका व्यक्तिहरुले पनि यो कामका लागि समय छुट्याए भने काम गर्न सक्छन् । धेरै सीपको पनि जरुरत नपर्ने तर मेहेनती र परिश्रमीले मात्र बालुवा चाल्न सकिने त्यहाँ काम गरिरहेका डम्बरबहादुर सार्की बताउँछन् ।

खोलामा गिटी चालेर एक डेढा ट्याक्टर बनाएवापत सो समूहले एक हजार रुपैयाँ पाउने गर्छन् । हरेकले दिनभर काम गरेको ज्याला हिसाब गर्दा ६०० रुपैयाँ भागमा पर्ने गरेको श्रमिक डम्बरबहादुर सार्कीको भनाई छ ।

उनीहरुको त्यही रकमले नै परिवारको सबै आवश्यक्तालाई पूरागर्दै आएको बताउँछन् । माईखोलाको गिटी र ढुङ्गाको संकलन र बिक्रीले दोमुखाका मानिसहरुलाई मात्र नभई बाहिरबाट आएर त्यहाँ काम गर्ने श्रमिकका धेरै परिवारलाई आर्थिक टेवा पुर्याएको पाइएको छ ।

९/१० वर्ष अघि दोमुखाका आधाजति बसोबासीसहरु खोलामा नै काम गर्थे । तर अहिले उनीहरुमध्ये धेरैले पसल चलाएर जीविकोपार्जन गर्न थालेका छन् । स्थानीय एकजना पुराना बासिन्दा शोभा लिम्बू भन्छिन्, ‘दोमुखाको वनभोजस्थल वरपर २०/२१ वर्ष अघिसम्म माईखोलाको बगर थियो । त्यही बगरमा ढुंगा भेला पारेर र गिटी चालेर आफूहरुले यहाँ बसोबास गर्न थालेको हौं ।’

यहाँ खोलामा ढुङ्गा टिप्न र गिटी चाल्नुपर्ने बाध्यताका विषयमा सोधिएको जिज्ञासामा श्रमिक सार्की भन्छन्, ‘यहाँ काम गर्ने धेरैसँग खेतीपाती गर्नको लागि जमिन छैन । कतिपयको त घर बनाउने जमिन पनि छैन । यसैले ओतलाग्ने घर बनाउन र जीवन चलाउन ढुङ्गा टिप्न र गिटी चाल्नुपर्ने अवस्था आएको हो ।’

यसरी जीविकोपार्जन गरिरहेका मजदूरहरुको दिनचर्या बारे स्थानीय होटल ब्यवसायी माया तामाङ भन्छिन्, ‘बिहान उज्यालो हुने बित्तिकै उनीहरु खोलामा पुगिसकेका हुन्छन्, अनि दिउँसोको खाना खाएर एकछिन् थकाई मार्छन् । त्यसपछि फेरि काममा लागेका साँझ अबेरमात्र घर फर्किन्छन् ।’

समाचार संकलनका लागि त्यहाँ पुग्दा दिउँसोको १ बजेको थियो । ३/४ जना श्रमिकहरु खोलाकै बगरमा घाम छेल्न बनाएको सानो पालमा थाकेको मुद्रामा आराम गरिरहेका थिए । तिनीहरु मध्येकी एकजना अधबैंसे महिला कुसुम लिम्बू भन्छिन्, ‘जबदेखि घर व्यवहार आफ्नो काँधमा आयो, त्यसपछि देखि नै यो कामगर्न थालेको अहिले १९ वर्ष भयो ।’

यहीँ काम गर्दागर्दै उनका ३ सन्तान जन्मिए, जेठो छोराको विवाह पनि भइसकेको उनको भनाई छ । कुशुमले आफ्ना २ जना छोराहरुको पढाई खर्च, घरको सबै व्यवहार आफू एक्लैले यहाँ खोलामा काम गरेरै धान्दै आएको बताउँछिन् ।

कुशुम सम्झिन्छिन्, ‘आफू सानो हँुदा आमा–बुवाले अर्काको खेती कमाएर खुवाउनु हुन्थ्यो, निकै दुःख थियो परिवारमा । तर अहिले खोलामा गिटी चालेरै भएपनि परिवार चलाउन सहज नै भइरहेको उनको भनाई छ । खोलामा बसेर गिटी, बालुवा, ढुंगाको काम गर्नु सजिलो भने छैन । घाम–पानी केही नभनी खट्नुपर्ने हुन्छ । सुरुमा काम गर्न थाल्दा बानी नभएको कारण हातका छालाहरु उक्किने गर्छन् ।

अर्का मजदुर डम्बरबहादुर सार्की पनि विदेशबाट फर्किए पछि खेतीपाती गर्नलाई जमिन नभएकोले अरुजस्तै खोलामा गिटी चाल्न थालेको बताउँछन् । गिटी चालेरै भए पनि नानीहरुलाई स्कूल र घरको खर्च राम्रैसँग चलिरहेको साार्कीको भनाई छ ।

बर्खाको समयमा बाहेक खोलामा काम निरन्तर भइरहेको हुन्छ । असार १ गतेदेखि ३ महिनासम्म खोलाबाट गिटी, ढुंगा र बालुवा निकाल्न बन्द गर्ने सरकारको निर्णय भएकाले हरेक वर्ष तीन महिना काम हुने मजदुरहरु बताउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *