Sajhamanch Archive

कृषक सदस्यको उत्थानमा अग्रसर बन्दै गरामनी कृषि सहकारी

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by .

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ३ बिर्ताबजारमा रहेको गरामनी कृषि सहकारी संस्थाको १४औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

झापा जिल्ला सहकारी संघका सहसचिव कृष्णप्रसाद मिश्रले दिप प्रज्वलन गरी उद्घाटन गरिएको समारोहमा संस्थाका उत्कृष्ट बचतकर्ता सन्तुमाया राई, असल ऋणी धनबहादुर गुरुङ र उत्कृष्ट कर्मचारी मनिता घिमिरे (लेखापाल) लाई पुरस्कृत र सम्मानित गरिएको थियो ।

उद्घाटन समारोहमा संस्थाका अध्यक्ष ताराप्रसाद चापागाईंले संस्थाको वार्षिक कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थामा दुई हजार ९१ जना शेयर सदस्य रहेको र उनीहरुबाट एक करोड ५५ लाख १६ हजार १०० रुपैयाँ शेयर पूँजी संकलन गरिएको अध्यक्षले जनाए । प्रस्तुत वार्षिक प्रतिवेदनमा संस्थाले गत असार मसान्तसम्म दुई करोड ३० लाख ९८ हजार ३६९ रुपैयाँ ८९ पैसा निक्षेप संकलन गरेको छ भने सदस्यहरुमाझ पाँच करोड ४० लाख २२ हजार ३०१ रुपैयाँ ऋण लागानी गरिएको उल्लेख छ ।

सहकारी संस्थाको मेरुदण्ड मानिने कोष हिसाबमा २५ लाख २९ हजार ६४५ रुपैयाँ सञ्चित रहेको छ भने समीक्षा वर्षमा ३ लाख १० हजार ८८५ रुपैयाँ खुद मुनाफा गरिएको अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

कृषि सहकारी भएको नाताले संस्थाले साल्ट ट्रेडिङ कर्पोरेशन बिर्तामोडसँग सम्झौता गरी शेयर सदस्यहरुलाई सहुलियत दरमा रसायनिक मल उपलब्ध गराउँदै आएको छ । यस्तै आफ्ना सदस्य कृषकलाई सिंचाई सुविधा प्रदान गर्न बिर्तामोड नगरपालिकासँग सहकार्य गरी डिप वोरिङ अनुदानमा उपलव्ध गराएको, वैज्ञानिक तरिकाले कृषि व्यवसाय सञ्चालन गर्न प्राविधिक परामर्षसहित सहुलियत दरमा कर्जा प्रवाह गर्ने नीति लिइएको अध्यक्ष चापागाईंले बताए ।

संस्थाका सचिव गोपाल सिटौलाले सञ्चालन गरेका साधारणसभा उद्घाटन समारोहमा लेखा सुपरीवेक्षण समितिका संयोजक पदमप्रसाद वाँस्कोटाले स्वागत मन्तब्य राखेका थिए ।

साधारणसभामा मन्तब्य राख्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला संघका सहसचिव मिश्रले संस्था स्थापना गर्दा अघि सारिएका योजनाहरु कार्यान्वयन गर्न अनेकन चुनौती पार गर्नुपरेको ईतिहासलाई बिर्सन नमिल्ने बताए । संस्थापक नेतृत्वको दूरदर्शिताको परिणामले आज गरामनी कृषि सहकारीको नाम उँचो बन्दै गएको पाइन्छ, यसका लागि १४ वर्ष अवधिका सबै सञ्चालकहरु बधाईका पात्र छन् भनी प्रशंशा गरेका थिए ।

मुलुक नै समाजवाद उन्मुख रहने गरी संविधानले परिकल्पना गरेको सुनाउँदै प्रमुख अतिथि मिश्रले समाजवादको यात्रामा सहकारी संस्थाहरु साधन बन्नसक्ने औंल्याएका थिए । गरामनी कृषि सहकारीको वित्तीय सुचक नियाल्दा संस्था गतिशील रहेको देखिन्छ भन्दै जिल्ला संघका सहसचिव मिश्रले सही नीति र सबल नेतृत्व भएमा संस्था अगाडि बढ्ने सुझाव दिए ।

कार्यक्रममा सुनकोशी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक सदस्य आनन्द राई, सम्पन्न बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष राधाकृष्ण अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *