बिर्तामोडमा चल्ने अटो टेम्पोको भाडा बढ्यो
Published:
by .बिर्तामोड । पेट्रोलियम पदार्थको अचाक्ली मूल्य बढाएपछि बाध्य भएर बिर्तामोड नगरपालिकाले नगर क्षेत्रभित्रका लागि अटो टेम्पोको भाडा वृद्धि गरिदिएको छ ।
बिर्तामोड नगरपालिकाभित्र सञ्चालित अटो टेम्पोको भाडा न्यूनतम १० रुपैयाँ वृद्धि गरिएको हो । अटो रिक्सा व्यवसायीहरुले भाडा वृद्धिका लागि माग गरेपछि बिर्तामोड नगरपालिकाले नयाँ भाडा दर कायम गरेको जनाइएको छ।
लामो समयदेखि शुरुआती चरणकै भाडामा कुदिरहेका व्यवसायीले इन्धनको मूल्य वृद्धि र खाद्य सामग्रीको मूल्य वृद्धि भएका कारण भाडा वृद्धिको माग गरेका थिए ।
अटो व्यवसायीले जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला समन्वय समिति झापामा भाडा वृद्धिका लागि माग गरेका थिए । भाडा वृद्धिका लागि नगरपालिकाले नै निर्णय गर्नुपर्ने पत्राचार भएपछि व्यवसायीको प्रस्ताव बमोजिम भाडादर कायम गरिएको छ ।
नगरपालिकाको तर्फबाट कार्यपालिका सदस्य निता घतानी संयोजक र रोजगार संयोजक होमनाथ भट्टराई सचिव रहने गरी अटो टेम्पो चालकका प्रतिनिधिसहितको सिफारिस समिति बनाइएको थियो । सोही समितिले नयाँ भाडादर प्रस्ताव गरे अनुसार कार्यपालिकाले निर्णय गरेको हो ।
मंसिर १६ गतेको कार्यपालिका बैठकमा सिफारिस समितिले प्रस्ताव गरेको भाडादर निर्णय भएको छ । पुरानो भाडालाई अध्ययन गरेर भाडा वृद्धि गर्ने सन्दर्भमा बनाइएको सिफारिस समितिले नयाँ मापदण्ड अनुसार भाडा दरका लागि कार्यपालिकालाई नयाँ दर पठाएको थियो । सोही अनुसार अब कार्यान्यवयनमा ल्याइएको नगरपालिकाले जनाएको छ । नयाँ भाडादर संलग्न विवरणमा उल्लेख छ ।
Comments