मनकामना कलेजमा साहित्यिक तथा सम्मान कार्यक्रम सम्पन्न
Published:
by .बिर्तामोड । मनकामना क्याम्पस साहित्यिक परिवारले आज शुक्रबार साहित्यिक रचना वाचन तथा सम्मान कार्यक्रम गरेको छ ।
विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभालाई उजागर गर्ने उद्देश्यले कलेजमा २०७२ सालमा स्थापित साहित्यिक परिवारले विभिन्न समयमा विविध साहित्यिक कार्यक्रमहरु गर्दै आएको छ ।
मनकामना क्याम्पसको सभाहलमा सम्पन्न कार्यक्रममा परिवारका अध्यक्ष हरिकृष्ण भण्डारीको अध्यक्षता रहेको थियो । कार्यक्रममा साहित्यिक परिवारका संस्थापक अध्यक्ष सिएम ढुङ्गेल, संस्थापक सचिव सन्दिप थपलिया, निवर्तमान अध्यक्ष संगीता कोइरालालाई सम्मान गरियो ।
मनकामना कलेजका प्रमुख प्रेमप्रसाद भट्टराई, शैक्षणिक कार्यक्रम संयोजक कुमार थपलिया, सहायक क्याम्पस प्रमुख राजेन्द्र प्रसाईं लगायतले सम्मानितहरुलाई खादा ओडाएर सम्मानपत्र प्रदान गरेका थिए ।
उक्त कार्यक्रममा मन्तव्य राख्दै क्याम्पस प्रमुख भट्टराईले यस परिवारले विद्यार्थी वर्गमा सकारात्मक र उत्प्रेरणामुलक साहित्यिक भावना ओतप्रोत गर्न सकेको भन्दै मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
कार्यक्रममा करिब १५ जना विध्यार्थीहरुले क्रमशः गीत, गजल मुक्तक, कविता, चुट्किला आदि प्रस्तुत गरेका थिए । सो अवसरमा गजलकार सविन सिटौलाको विशेष गजल प्रस्तुत भएको थियो ।
मनकामना कलेज बिर्तामोडमा अध्ययनरत साहित्य अनुरागी विद्यार्थीहरुको साहित्यिक समूह का सदस्य दिपक ढुंगानाले शाब्दिक मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव उमेश खतिवडाले गरेका थिए ।
Comments