Sajhamanch Archive

धौलागिरी सहकारीको जयपुर सेवाकेन्द्रलाई उत्कृष्ट पुरस्कार, ५४ लाख ८५ हजार ३८८ रुपैयाँ खुद नाफा आर्जन

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, सहकारी by .

बिर्तामोड । यहाँस्थित धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाको १४औं वार्षिक साधारणसभा आज शनिबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा साधारणसभा उद्घाटन गरिएको हो । साधारणसभा उद्घाटन समारोहमा अध्यक्ष पौडेलले संस्थाको वार्षिक प्रगति प्रतिवेदन वाचन गरेका थिए ।

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/०७८ को असार मसान्तसम्ममा संस्थामा सात हजार ६९९ शेयर सदस्य रहेको छ भने संस्थाको शेयरपुँजी चार करोड २८ लाख ६० हजार २०० रुपैयाँ पुर्याइएको छ । संस्थाको मेरुदण्डको रुपमा लिइने कोषमा एक करोड ६३ लाख ८२ हजार ४९९ रुपैयाँ ६४ पैसा संचित छ भने समीक्षा वर्षमा संस्थाले ५४ लाख ८५ हजार ३८८ रुपैयाँ खुद नाफा आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ ।

समीक्षा वर्षमा संस्थाले निक्षेप प्राप्ती र भुक्तानीमा २० करोड ४७ लाख ५४ हजार ८५९ रुपैयाँ, बाह्य ऋण १५ करोड ६ लाख ९७ हजार ६४ रुपैयाँ तथा सदस्यमाझ ऋण लगानीमा ३१ करोड १२ लाख १६ हजार ७३० रुपैयाँ रहेको अध्यक्षद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा आफ्ना धारणा राख्दै प्रमुख अतिथि ढकालले सहकारी संस्थाले लिने र दिन ब्याजको फरकता (स्प्रेडदर) ६ प्रतिशतभन्दा बढाउन नहुनेमा झापाली सहकारी संस्थाहरु सचेत रहेकाले ४ प्रतिशत हाराहारीमा कारोबार भइरहेको अवगत गराए ।

नेपालको वित्तीय बजारमा यतिबेला तरलता संकुचन भइरहेको प्रति सबै संस्थाहरु सजग हुनुपर्ने सुझाव दिँदै उनले कर्जा लगानीमा अग्रसरता नदेखाउन आग्रह गरे । सहकारीमा कारोबार गर्ने सबैजना शेयर सदस्यहरु नै भएकाले संस्था बचाउन नियमित बचत गर्न तथा निक्षेपको कारोबार गन सदस्यहरुलाई अध्यक्ष ढकालको सुझाव छ ।

साधारणसभा उद्घाटन समारोहमा संस्थाको उत्कृष्ट सेवा केन्द्रका रुपमा जयपुर सेवा केन्द्रलाई प्रशंशा पत्रसहित सम्मान गरिएको छ । यसैगरी, जयपुर सेवा केन्द्रका प्रमुख कुलप्रसाद पाण्डेलाई स्टाफ अफ द इयर २०७७ बाट नगद १० हजार रुपैयाँसहित सम्मान गरियो । संस्थाको लक्ष्मीपुर सेवा केन्द्रका बजार प्रतिनिधि दुर्गा भट्टराई अधिकारीलाई स्टार अफ द इयर २०७७ बाट सम्मान गरिएको छ ।

सो कार्यक्रममा बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश पोखरेल, हल्दिबारी गाउँपालिका वडा नं. १ का अध्यक्ष त्रिलोचत सापकोटा, माँ महेश्वरी साकोसका शैलेन्द्र कुरुङवाङ, नागरिक स्वास्थ्य सहकारीका रविन्द्र भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका उपाध्यक्ष डिल्ली ओलीले शाब्दिक स्वागत गरेको सो समारोहको सञ्चालन संस्थाका सचिव किशोर भट्टराईले गरेको थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *