कर्णाली साकोसको साधारणसभा पुष १ देखि २१ गतेसम्म १४ स्थानमा गरिने
Published:
by .बिर्तामोड । बिर्तामोड मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले २१औं वार्षिक साधारणसभाको लागि तयार गरिएको प्रगति प्रतिवेदन आइतबार सार्वजनिक गरेको छ ।
संस्थाले आज पत्रकार सम्मेलनको माध्यबाट वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो । संस्थाका अध्यक्ष टसबहादुर प्रधान, उपाध्यक्ष ईश्वरीप्रसाद खरेल, सञ्चालक सदस्यहरु गणेशप्रसाद पराजुली र गुञ्जन थापाले प्रतिवेदनको विमोचन गरेका हुन् ।
प्रस्तुत प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/०७८को असार मसान्तमा संस्थाले ३९ हजार ८६९ जना शेयर सदस्य बनाउन सफल भएको तथा ३५ करोड ८४ लाख ५३ हजार रुपैयाँ शेयर पुँजी संकलन गरेको उल्लेख छ ।
समीक्षा अवधिमा संस्थाको बचत एक अर्ब ५१ करोड १६ लाख २० हजार ३७६ रुपैयाँ छ भने लगानीमा रहिरहेको कर्जा रकम दुई अर्ब ८० करोड ८६ लाख २९ हजार ७८४ रुपैयाँ पुर्याइएको छ ।
संस्थाका अध्यक्ष टसबहादुर प्रधानले प्रतिवेदनका मुख्य अंशहरु वाचन गर्दै संस्थाको मेरुदण्ड मानिने विभिन्न कोषहरु जगेडा तथा अन्य कोषहरुमा १५ करोड ४८ लाख ३३ हजार ९७ रुपैयाँ रहेको जनाए ।
कोरोना कहरले सदस्यहरुको ब्यवसायिक कारोबार शुसुप्त हुँदा संस्थाको वित्तीय अवस्थामा सुधार आउन नसके पनि संस्थाको वासलात अंकमा ४२ दशमलव ६८ प्रतिशतले वृद्धि गरी तीन अर्व ४१ करोड २८ लाख १९ हजार ३५१ पुर्याइएको अध्यक्ष प्रधानले जनाएका छन् ।
उनका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा संस्थाले नौ करोड ५७ लाख ४६ हजार ६८७ रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । सोबाट नियमित रुपमा बचत तथा कर्जाको कारोबार गर्ने सदस्यहरुले योगदानका आधारमा संरक्षित पूँजी फिर्ता कोषबाट ५ प्रतिशत पाउने छन् भने सबै सेयर सदस्यहरुले शेयर लाभांश वापत ९ प्रतिशत प्राप्त गर्ने अध्यक्ष प्रधानले बताएका छन् ।
संस्थाको कार्यक्षेत्र झापा पछि मोरङ र इलाममा विस्तार गरिएको छ । झापाका सबै, इलामका तीन र मोरङका तीन पालिकामा संस्थाका ३७ वटा कार्यालय सञ्चालन भई वित्तीय कारोबार भइरहेको प्रतिवेदनमा उल्लेख छ । गत असार मसान्तमा कायम रहेका ३० वटा सेवा केन्द्रलाई १४ इकाईमा वर्गीकरण गरी स्थानीय साधारणसभा गर्ने संस्थाले तयारी गरेको पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
संस्थाले आगामी पुष १ गतेदेखि २१ गतेसम्म इकाईगत साधारणसभा सञ्चालन गर्ने कार्यसूचि बनाएर हरेक सदस्यका हातमा सोभन्दा पहिले नै वार्षिक प्रतिवेदन पुर्याउने योजना बनाइएको उपाध्यक्ष ईश्वरीप्रसाद खरेलले बताए । इकाइगत साधारणसभाबाट तीन–तीन जनाका दरले माइन्युट प्रमायाीकरण गर्ने प्रतिनिधि चयन गरी पुस २५ गते साधारणसभा सम्पन्न गर्ने तालिका सार्वजनिक गरिएको छ ।
कर्णाली साकोसले भिजन २०८० का लागि निर्धारित लक्ष्य एवम् अधिकांश सूचकहरु गतवर्ष नै पूरा गरिसकेकाले पुनरावलोकन गरिएको जनाइएको छ । संस्थाले लघुवित्त संस्थाहरुको राष्ट्रिय अभियान थ्री जिरो क्लवलाई सफल पार्न आवश्यक योगदान गर्ने लक्ष्य लिएको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले अत्याधुनिक प्रविधि एवम् डिजिटाइजेशनको माध्यमबाट सदस्यहरुलाई वित्तीय प्रवाह गरिरहेको अवगत गराउँदै प्रतिवेदनमा अब नगदरहित कारोबार गर्ने सदस्यहरुलाई उत्साहित पनि गरिएको छ ।
संस्थाका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन सञ्चालक समिति सदस्य गुञ्जन थापाले गरेका थिए ।
Comments