Sajhamanch Archive

हाम्रो नेपाल साकोसले वासलात डब्बल बनाउने लक्ष्य प्रस्तुत

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by .

बिर्तामोड । बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस)को नवौं बार्षिक साधारणसभा आज बुधबार सम्पन्न गरिएको छ ।

संस्थाले गत मंसीर २३ गते वार्षिक प्रतिवेदन सार्वजनिक गरेर साधारणसभाको सुरुवात गरेको थियो । झापा, इलाम र मोरङ जिल्लालाई कार्यक्षेत्र बनाएको संस्थाको नवौं वार्षिक साधारणसभाको उद्घाटन प्रतिनिधिसभाका सदस्य धर्मशिला चापागाईंले गरिदिएकी हुन् ।

साधारणसभामा संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले वार्षिक प्रगति प्रतिवेदन वाचन गरेर सुनाएका थिए । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/०७८ असार मसान्तमा संस्थामा १६ हजार ३७२ जना शेयर सदस्य रहेका थिए भने संस्थाको शेयर पुँजी १२ करोड ५२ लाख २९ हजार ७०० रुपैयाँ रहेको उल्लेख छ ।

त्यस्तै बचत निक्षेपमा ७२ करोड ५० लाख ८ हजार ९३१ रुपैयाँ, लगानीमा रहेको रकम १ अर्ब २७ करोड ४० लाख ७० हजार ५३३ रुपैयाँ र संस्थाको मेरुदण्ड मानिने विभिन्न कोषहरुमा ४ करोड ३ लाख ८३ हजार ५ सय ९७ रुपैयाँ मौज्दात रहेको अध्यक्ष दंगालले जनाए ।

हाम्रो नेपाल साकोसले सहकारी बैंक तथा संघहरुमा ५२ लाख ९७ हजार ६०० रुपैयाँ शेयर लगानी गरेको छ भने तरलता व्यवस्थापनका लागि तिनै बैंक तथा संघहरुबाट कर्जावापत ५८ करोड २१ लाख ८६ हजार २८९ रुपैयाँ लिएको जनाइएको छ ।

संस्थाले गत आर्थिक वर्षमा सञ्चालन मुनाफा ८२ लाख २२ हजार २७७ रुपैयाँ कमाएको प्रतिवेदनमा उल्लेख छ । झापाका सहकारीहरुमध्ये अर्ब क्लबमा समावेश भएको हाम्रो नेपाल साकोसको गत वर्षको कूल कारोबार वासलात १ अर्ब ५० करोड ८२ लाख ५१ हजार ३८१ रुपैयाँ रहेको र चालू वर्ष यसको डब्बल बनाउने लक्ष्य लिइएको अध्यक्ष दंगाालले बताए ।

साधारणसभाको अवसरमा संस्थाले उत्कृष्ट उद्यमी सदस्य गोविन्द खत्री बिर्तामोड र गंगादेवी गुरुङ चन्द्रगढीलाई नगदसहित प्रशंशापत्र प्रदान गरेको छ । यस्तै, उत्कृष्ट बचतकर्ता तारानाथ भट्टराई दमक र सम्झना ढकाल झिलझिले, उत्कृष्ट बाल बचतकर्ता इहान राजवंशी राजगढ र सुरुङ्गा सेवा केन्द्रका उत्कृष्ट ज्येष्ठ बचतकर्ता तुलसादेवी भट्टराईलाई प्रशंसापत्र, मायाको चिनो तथा नगदले सम्मान गरिएको छ ।

साधारणसभामा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य चापागाईं, जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, बिर्तामोड नगरपालिका वडा नं. ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलालगायतले आफ्ना भनाई राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *