Sajhamanch Archive

कोरोना संक्रमणको त्रासका बीच विद्यालय सञ्चालनः स्वास्थ्य मापदण्डको पालनामा गम्भिरता देखिएन

Published: (Updated: ) in मुख्य समाचार, शिक्षा, समाज, स्थानीय तह, स्वास्थ्य, by .

बिर्तामोड । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट बच्नका लागि सरकारले बन्द गराएका विद्यालयहरु पूर्णरुपमा सञ्चालनमा आएका छन् । पालिका सरकारले जोखिमलाई मध्यनजर गर्दै विद्यालयहरुले स्वास्थ्य मापदण्ड कायम गरी कक्षा सञ्चालन गर्न निर्देशन गरेबमोजिम विद्यालयहरु खुलेका हुन् ।

बिर्तामोड क्षेत्रका विद्यालयहरु पनि सोही निर्देशनबाट पूर्णरुपमा खुलेको पाइएको छ । यही सन्दर्भमा कोरोना भाइरसको सङ्क्रमण बढ्न नदिन विद्यालयहरुले स्वास्थ्य मापदण्ड कसरी पालना गरेका छन् भनी साझामञ्च डटकमले अनुगमन गरेको छ ।

बिर्तामोड क्षेत्रमा सञ्चालित निजी तथा सामुदायिक विद्यालयहरुमा साझामञ्च डटकमका पत्रकारहरु रिपोर्टिङको लागि पुग्दा देखिएको दृश्य यस्ता थिए । यी दृश्यहरु एकसातामा गरिएको अनौपचारिक अनुगमनबाट प्राप्त तथ्यहरु हुन् ।

विद्यालयको मैदानमा खेलिरहेका धेरै विद्यार्थीहरुले मास्क लगाएका थिएनन् ।
अधिकांश विद्यालयको अफिसमा मास्क र सेनिटाइजरको व्यवस्थापन गरिएको भए तापनि उचित प्रयोग भएको पाइएको थिएन ।
विद्यालयको गेटमा नै सेनिटाइजर राख्ने वा साबुन पानीले हात धुने व्यवस्था मिलाउनु पर्ने मापदण्ड भए पनि केही विद्यालयमा राखिएको बाल्टी हप्तौंदेखि पानी नहालिएको सुख्खा थियो भने भुइँमा पनि चिसो देखिन्नथ्यो ।
अधिकांश विद्यार्थीहरुले मास्कको प्रयोग गरेता पनि अधिकांशले चिउँडोमा अड्याएर गफ गर्ने, पढ्ने गरिरहेको देखिन्थ्यो । कतिपय विद्यार्थीहरुले मास्क लगाएका थिएनन् ।
विद्यालयले सेनिटाइजरको व्यवस्था गरेको पाइए पनि उचित प्रयोग गर्ने गरेको देखिएन ।
कुनै विद्यालयमा त शिक्षकले नै मास्क नलगाएको पाइयो । धेरैजना शिक्षक कर्मचारीहरुले मास्कको उचित प्रयोग नगरी नाकभन्दा मुनी लगाएको र कसैले त चिउँडोमा अड्याएको पाइएको छ ।
कतिपय विद्यालयको अफिसमा पनि सेनिटाइजर राखेको पाइएन ।

सबै विद्यालयमा विद्यार्थी र शिक्षकहरुले भौतिक दुरी कायम गरेको पाइएको थिएन । भौतिक दूरी कायम हुन नसकेको विषयमा महेन्द्ररत्न माद्यामिक विद्यालय बिर्ताबजारका सहायक प्रधानाध्यापक भोजराज दाहाल भन्छन् “हाम्रो विद्यालय सरकारी विद्यालय भएकाले विद्यार्थीको सङ्ख्या बढी हुँदा भौतिक दूरी कायम गर्न सकिएको छैन, कोशिस गर्दा पनि सम्भव भएको छैन । तर अन्य मापदण पालनामा हामीले ध्यान दिएका छौं ।’

सहायक प्रधानाध्यापक दाहालले दिएको जानकारी अनुसार विद्यार्थी र शिक्षक बिरामी परेको थाहा पाउने बित्तिकै विद्यालयमा नआउन सूचित गरिन्छ र निको भएपछि मात्र विद्यालयमा प्रवेश दिने गरिएको छ ।

विद्यालय सञ्चालन गरे तापनि सो विद्यालयले सकेसम्म विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पुग्ने र उनीहरुका अभिभावकलाई ठोष पुग्ने कुनै कार्य नगरेको दावी गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *