Sajhamanch Archive

भद्रपुरमा प्रथम बालमैत्री नगर घोषणा दिवस मनाइयो

Published: in मुख्य समाचार, शिक्षा, समाज, स्थानीय तह by .

भद्रपुर । ‘संस्कृति र सभ्यताको आधार, सुखी बालबालिका समृद्ध भद्रपुर नगर’ भन्ने नाराका साथ प्रदेश १ को पहिलो बालमैत्री नगर भद्रपुर नगरपालिकाले बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणाको पहिलो दिवस विविध रचनात्मक क्रियाकलापका साथ बुधबार मनाएको छ ।

यस अवसरमा भद्रपुर ६ स्थित होटल सिटी गार्डनको परिसरमा बृहत समारोह आयोजना गरिएको थियो । नगर बाल सञ्जालकी अध्यक्ष भावना पोखरेलको अध्यक्षतामा आयोजित समारोहको उद्घाटन प्रदेश नं १ का सांसद तथा पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेले गरेका थिए ।

साँस्कृतिक प्रस्तुतिहरुका साथ आयोजित समारोहमा प्रमुख अतिथि घिमिरेले बालबालिकाको सर्वांगीण विकास बिना समृद्ध राष्टको कल्पना गर्न नसकिने बताउँदै भद्रपुर नगरपालिकाले बालबालिकाको क्षेत्रमा गरेको लगानी र प्राप्त गरेको प्रतिफलको मुक्तकण्ठले प्रशंसा गरे । उनले सबै स्थानीय तहहरुले बालबालिकाको क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा राखे ।

समारोहमा नगरप्रमुख जीवनकुमार श्रेष्ठले आफूहरुले नगरपालिकाको जिम्मेवारी सम्हालेसँगै भद्रपुरमा बालमैत्री अभियान शुरु गरेको र अभियानले पाएको सार्थकतापछि अहिले देशभरिका स्थानीय तहहरुका लागि भद्रपुर नगरपालिकाका सिकाइको थलो बनेको धारणा राखे ।

सो अवसरमा भद्रपुरको शैक्षिक विकासमा सहयोग पुर्याउने समाजसेवी दीनबन्धु गोयललाई सम्मान गरिएको थियो भने समाजसेवी परशुराम अग्रवाल र दीप लिम्बूलाई मरणोपरान्त सम्मान गरियो ।

बालमैत्री गीतका रचनाकार सत्य राजवंशी, संगीतकार हरि पौडेल, बालमैत्री बानी व्यवहार प्रदर्शन गर्ने शिक्षकका रुपमा वीरेन्द्र माविका शिक्षक गंगा घिमिरे, पूर्व शिक्षक कैलाश राईलगायत भद्रपुरको बालमैत्री अभियानमा सक्रिय साथ सहयोग पुर्याउने विभिन्न क्षेत्रका व्यक्तित्व तथा संघ संस्थालाई पनि सम्मान गरियो । दिवसकै सन्दर्भ पारेर एक सातासम्म सञ्चालन गरिएका विभिन्न विधाका प्रतियोगितामा विजयी बालबालिकालाई पुरस्कृत गरिएको थियो ।

यसैगरी नगर बाल सञ्जालको तर्फबाट नगरप्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रा श्रेष्ठ र बालमैत्री अभियानका फोकल पर्सन टिकाराम पाण्डेलाई विशेष सम्मान गरिएको थियो । सोही अवसरमा ६ जना विपन्न विद्यार्थीलाई साइकल वितरण गरिएको थियो ।

समारोहमा प्रदेश १ का प्रदेशसभा सदस्य बसन्त बानियाँ, नेपाली कांग्रेस ३ नं क्षेत्रीय सभापति गणेश पोखरेल, कनकाई नगरपालिकाका उपप्रमुख मञ्जु प्रसाईं, बालमैत्री अभियानकर्मी सुमन ढकाल, इटहरी नगर बाल सञ्जालका अध्यक्षलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *