Sajhamanch Archive

बिर्तामोडमा मुक्तिचोकको घेराबारा विज्ञापन गर्ने ठाउँ बन्दै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

बिर्तामोड । झापाको केन्द्र मानिने बिर्तामोड र बिर्तामोडको पनि मुख्य भाग मुक्तिचोक पछिल्लो समय विज्ञापन तथा प्रचार सामग्री झुण्ड्याउने मुख्य ठाउँका रुपमा परिचित बन्दै गएको छ । यस कार्यले प्रचारकलाई त फाइदा नै पुगेको होला, तर बिर्तामोड शहरको असली पहिचान पनि दिलाएको छ भन्दा अन्यथा हुँदैन ।

स्वतन्त्रताको आभास दिलाउने शब्द हो ‘मुक्ती’ । यही शब्द प्रयोग गर्दै तत्कालीन मेची अञ्चलकै प्रमुख व्यापारिक शहर बिर्तामोडको पनि केन्द्र भागमा रहेको चौबाटोलाई मुक्तिचोकको नामाकरण गरिएको हो । २०६२/६३ को जनआन्दोलन पश्चात मुक्तिचोकमा निर्माण गरिएको मसाल बोकेर लम्किरहेका महिला र पुरुषका शालिकले विभिन्न समयमा भएका जनसंघर्ष र बलिदानको केन्द्र झापा भएको झल्को दिन्छ ।

पूर्वी सिमाना काँकरभिट्टा, पहाडी जिल्लाहरु ताप्लेजुङ, पाँचथर र इलाम हुँदै पश्चिम नेपालतर्फ जाने मानिस हुन् या जिल्ला सदमुकाम भद्रपुरबाट बिर्तामोड हुँदै शनिश्चरतर्फ लाग्ने सवारी साधन र यात्रुहरु मुक्तिचोकबाटै जाने गर्छन । चारैतर्फबाट आउँदा प्रष्ट देखिने र बिर्तामोडलाई चिनाउने मुख्य आकर्षणस्थल मुक्तिचोक सफा र सुन्दर हुनुपर्ने हो । अझ मुक्ती स्तम्भलाई घेरेको चोकको आइल्याण्ड भित्र फूलका बोटहरुमा फूल फूल्नुपर्ने हो । रंगरोगन गरी आकर्षक बनाइनुपर्ने हो र कुनैबेला थियो पनि ।

तर दुर्भाग्य, हिजोहाज माथि उल्लेख गरिएकोभन्दा ठीक उल्टो मुक्तिचोक विभिन्न संघ–सस्था, व्यापारी व्यवसायी तथा राजनीतिक दलका प्रचार सामग्री झुण्डाउने प्रचारथलो बनेको छ । विभिन्न राजनीतिक दलका झण्डा झुण्ड्याउन, संघ–संस्था, व्यापार, व्यवसायको प्रचारप्रसार गर्ने खालका ब्यानर वा पर्चा टाँस्नका लागि मुक्तिचोक प्रयोग हुँदै आएको छ । जसका कारण मुक्तिचोक आइल्याण्ड कुरुप बन्दै गएको प्रष्ट छ ।

शहरीकरण बढेसँगै व्यापार, व्यवसाय, संघ–संस्था अत्याधिक बढेपछि प्रचार प्रसारका कार्यहरु पनि दिनदिनै बढ्दै गएका छन् । विज्ञापनका पोष्टर र फ्लेक्स ब्यानरहरु मुक्तिचोकमा मात्र नभई अन्य विभिन्न ठाउँहरुमा टाँस्ने गरिएको छ । त्यो पहिले टाँसेको ब्यानर नफाली त्यही माथि अर्को टाँस्ने गरेकोले ती ठाँउहरु कुरुप र दूषित बन्दै गएको प्रत्यक्ष देख्न सकिन्छ । एकमाथि अर्को गर्दै टाँसिएका ब्यानरहरुले मुक्तिचोकमा भएका बोट विरुवा र त्यस ठाउँको मुख्य सुन्दरतामा ह्रास ल्याइरहेको नाङ्गो आँखाले देख्न सकिन्छ ।

सो क्षेत्र आसपास ब्यवसाय गर्ने व्यवसायीहरु भन्छन् “बिर्तामोड एउटा सुन्दर ठाउँ हो, तर यहाँ जथाभावी टाँसिएका पोस्टर र फ्लेक्स व्यानरहरुले गर्दा नराम्रो देखिँदै गएको छ ।’’

इलामको बिब्ल्याँटेबाट पसलमा बिक्री गर्ने सामान किन्न आएको बताउने कुमार विष्ट भन्छन् “मैले त बिर्तामोड निकै सुन्दर छ भन्ने सुनेको थिएँ, अझ बिर्तामोडमा रहेको मुक्तिचोक मुख्य आकर्षण केन्द्र हो पनि भनिएको थियो तर यहाँ आएर हेर्दा त्यस्तो लागेन ।”

बिर्तामोडलाई चिनाउने स्तम्भमा प्रचारप्रसार र विज्ञापन गर्न टाँसिएका फ्लेक्सले गर्दा बिर्तामोडको आकर्षणलाई घटाउँदै गएको छ । विभिन्न संघ–संस्था, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलले टाँगेका व्यानर र पोस्टरहरु आफ्नो कार्यक्रम सकिए पछि निकालेरमात्र अर्को टाँस्दा पनि केही मात्रमा मुक्तिचोक ठिकै देखिन सक्छ । तर यसतर्फ चासो दिएको पाइन्न ।

बिर्तामोड नगरपालिकाको अगुवाईमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, बिर्तामोड उद्योग वाणिज्य संघ तथा ब्यवसायिक प्रतिष्ठानहरुले यसको सौन्दर्यकरणमा ध्यान दिनुपर्ने देखिन्छ । मुक्तिचोकको सरसफई गर्ने, रङरोकन गर्ने, बोट विरुवा रोप्ने र मुक्तिचोकमा कुनै पनि प्रकारका ब्यानर र पोस्टर टाँग्न नदिँदा सो ठाउँलाई निकै अकर्षक बनाउन सकिन्छ । केही वर्ष अघिसम्म पोष्टरसम्म टाँस्न निषेधित मुक्तिचोक आइल्याण्डको घेराबारा कुरुप देख्दा तपाईंलाई पनि पक्कै मन पोलिरहेको होला ! यसको सुन्दरतामा कसले पहल गर्ला खै ??

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *