Sajhamanch Archive

मेचीनगर नगरपालिकाबाट सर्वसाधारणको लागि जारी गरिएको प्रेस विज्ञप्ति

Published: in मुख्य समाचार, विज्ञापन by .

आदरणीय नगरबासी जनसमुदायहरु,

नेपाल कम्युनिस्ट पार्टी (ने क पा) द्वारा मिति २०७५/०६/०२ मा यस कार्यालयमा पेश गरेको ज्ञापन पत्र सम्बन्धमा मेचीनगर नगरपालिकाको ध्यानाकर्षण भएको छ । सो ज्ञापन पत्रमा देखाइएका अस्पष्टताका सम्बन्धमा स्पष्ट पार्न आवश्यक देखिएको छ ।

मेचीनगर नगरपालिका साविक वडा नं. ०१ हाल वडा नं. १० को साविक कि. नं. ६२ क्षेत्रफल ४०,१५७.८२ वर्ग मिटरको जग्गा सम्बन्धमा जग्गाधनी सुवासराज काफ्लेले सो जग्गाको ब्यवसायिक/आवासीय प्रयोजनका लागि प्लानिङ गरी यस कार्यालयमा दर्ता नं. २४२१ मिति २०७४/०७/२६ गतेको माग निबेदन बमोजिम कित्ताकाटका लागि सिफारिस माग गरेको थियो ।

निजबाट पेश भएको ब्यवसायिक तथा आवासीय प्लानिङ नगर कार्यपालिकाबाट स्वीकृत भएको योजना तथा भवन मापदण्ड २०७४ बमोजिम नभएको हुँदा सो प्लानिङ संशोधन गरी स्वीकृत मापदण्ड अनुसार हुनेगरी पेश गर्न च.नं. ८९४ मिति २०७४/०७/२९ गतेको पत्र मार्फत निजलाई जानकार गराइएको र निजबाट मिति २०७४/०८/१२ मा नगरपालिकाबाट माग गरिएअनुसार हुनेगरी संशोधित प्लानिङ पेश हुन आएको हुँदा यस कार्यालयबाट प्लानिङ स्वीकृती प्रदान गरे बापतको हुन आउने राजश्व रकम रु. १,३०,२६०।०० लिई कित्ताकाटको लागि च. नं. १४९३ मिति २०७४/१०/२२ को सिफारिस पत्र मार्फत मालपोत/नापी कार्यालयलाई प्रचलित नियम र कानुनको अधिनमा रही अख्तियार प्राप्त अधिकारीबाट नै सिफारिस गरिएको थियो

तर, नगरपालिकाले स्वीकृत गरेको प्लानिङ र प्रकृया कार्यान्वयन नगरी निबेदक सुवासराज काफ्ले समेतको मिति २०७५/०४/२२ गतेको माग निबेदन बमोजिम उक्त जग्गा आवासीय/ब्यवसायिक रुपमा बिक्री वितरणको लागि कित्ताकाट नभई अंशबण्डा मार्फत कित्ताकाट भएको भनी नगरपालिकाबाट स्वीकृत भएको प्लानिङमा छुट्याइएको ५ प्रतिशत जग्गा पनि अंशवण्डामा कित्ताकाट गरेको जानकारी गराई सो जग्गामा होटल निर्माणको स्वीकृती माग गरेको हो ।

उक्त कित्ताकाट सम्बन्धमा प्रष्ट हुन च. नं. ३७४ मिति २०७५/०४/२२ र च. नं. ४०४ मिति २०७५/०४/२३ गतेको पत्रमार्फत मालपोत कार्यालयमा पत्राचार गरिएकोमा मालपोत कार्यालयबाट च.नं. १४९६ मिति २०७५/०५/०१ गतेको प्राप्त पत्र मार्फत पठाइएको जवाफमा उल्लेखित जग्गा अंशवण्डा मार्फत कित्ताकाट भई गएको उल्लेख भई आएको हुँदा निजले माग गरेको होटल भवन निर्माण स्वीकृति व्यक्तिको नीजि सम्पत्तिमा सम्पत्तिको हक समेत रहने संवैधानिक प्रावधान बमोजिम नै स्वीकृत योजना तथा भवन निर्माण मापदण्ड २०७४ बमोजिम स्वीकृतिको प्रकृयाका लागि सिफारिस गरिएको हो ।

आदरणीय नगरबासी जनसमुदायहरु,

यसै सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) मेचीनगर झापाले यस कार्यालयमा पेश गरेको ज्ञापन पत्र सम्बन्धमा देहाय बमोजिम बुँदागत रुपमा थप प्रष्ट पारिएको छ ।

बुँदा नं. १

साबिक चिया विकास निगमले मेचीनगर नगरपालिकालाई हालसम्म एकीकृत सम्पत्ति कर नबुझाएको तर साबिक मेचीनगर नगरपालिका ०१ को साबिक कित्ता नं. ६२ को जग्गा साबिक चिया बिकास निगमबाट कृषि विकास बैंक, धुलाबारी हुँदै सुवासराज काफ्लेको नाममा राजिनामा पास भई आएको र यस जग्गाको पछिल्लो खरिद बिक्री प्रकृयामा चिया विकास निगमको कहीँ कतै सम्बन्ध नरहेको जानकारी गराइन्छ ।

बुँदा नं. २

सार्वजनिक प्रयोजनका लागि छुट्याइएको भनिएको जग्गाको सम्बन्धमा माथि नै प्रष्ट पारिसकिएको छ ।

बुँदा नं. ३

साबिक कित्ता नं. ६२ को सम्पूर्ण जग्गा सुवास राज काफ्लेको एकल स्वामित्वमा रहेको र उक्त जग्गाको मूल्य साविक नगरपालिकाले निर्धारण गरेको न्यूनतम मूल्यभन्दा बढी राखी एकीकृत सम्पत्ति कर एकमुष्टरुपमा असुल गरिएको छ ।

बुँदा नं. ४

नगर कार्यपालिकाबाट स्वीकृत मापदण्ड बमोजिम पेश भएको प्लटिङ नक्सालाई स्वीकृत गरिएको र सोको स्वीकृति दिँदा नगरपालिकालाई निजले बुझाउनुपर्ने राजश्व नगरपालिकाले बुझिलिएको र जग्गा रजिष्ट्रेसनको र कित्ताकाटको प्रकृया समेत मालपोत कार्यालयबाट भएको विदितै छ ।

बुँदा नं. ५

नगर प्रमुखसहित सम्पूर्ण जनप्रतिनिधिका लागि सबै नगरबासी समान रहेको र नगर भित्र आयोजना हुने कार्यक्रमहरुमा निमन्त्रणा हुँदा सम्भव भएसम्म सबैलाई समय दिने नीति अनुसार उक्त कार्यक्रममा सहभागी भएकोमा अन्यथा मान्नुपर्ने अवस्था नरहेको ।

बुँदा नं. ६

जग्गा ब्यवसायिक/आवासीय प्रयोजनका लागी कित्ताकाट (प्लटिङ) गर्दा ५ प्रतिशत सार्वजनिक प्रयोजनको लागि जग्गा ब्यवस्था गर्नुपर्ने नगर कार्यपालिकाद्वारा स्वीकृत योजना तथा भवन मापदण्ड २०७४ मा ब्यवस्था रहेको तर उक्त जग्गा अंशवण्डा कित्ताकाट भएको हुँदा सार्वजनिक प्रयोजनका लागि जग्गा ब्यवस्था गर्न कानुनी रुपमा बाध्य नरहेको जग्गाधनीले स्वेच्छाले जग्गाको प्रचलित कानुनी प्रकृया पुयाई उपभोग गर्न सक्ने व्यवस्था छ ।

नगरबासी सम्पूर्णमा कानुनत प्राप्त अधिकारको प्रयोग र प्रचलन गर्न/गराउन नगरपालिका सदैव प्रयत्नशील छ । नगरबासीको सुखः दुखमा साथ दिँदै समग्र नगर क्षेत्रलाई विकासको मूलधारमा ल्याउन नगरपालिका आफ्ना नीति नियमका साथ योजनाबद्ध ढङ्गले अगाडि बढेको छ । नगर विकासको महान लक्ष्य सामु कसैको नीजि स्वार्थ किमार्थ मान्य हुने छैन र त्यस्तो स्वार्थ पनि छैन । धन्यबाद !

बिमल आचार्य
नगर प्रमुख

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *