Sajhamanch Archive

सिभिल सहकारी ठगी प्रकरणः पूर्वअध्यक्ष तामाङ र वर्तमान अध्यक्ष श्रेष्ठ जेल चलान

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by .

काठमाडौं । सिभिल सहकारी ठगी प्रकरणका दुई मुख्य आरोपी पूर्वअध्यक्ष इच्छाराज तामाङ र वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन् ।

संगठित अपराध र ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले झन्डै तीन साता लामो थुनछेक बहसपछि उनीहरूलाई जेल चलानको आदेश दिएको हो ।

सिआइबीले पक्राउ गरेका १२ मध्ये नौजनालाई धरौटीमा छाड्ने तथा एकजनालाई साधारण तारेखमा छाड्ने अदालतको आदेश छ ।

पक्राउ परेका हरिहरप्रसाद लामिछानेसँग ५० लाख, विजयविक्रम शाहसँग १५ लाख, भगवानबहादुरसिंह डंगोलसँग १० लाख धरौटी माग भएको छ । लामिछाने सहकारीको लेखा समिति सदस्य थिए भने शाह सिभिल होम्सका वरिष्ठ प्रबन्धक हुन् ।

त्यस्तै, कर्मचारीहरू एलिना तुलाधर, मयोनानी महर्जन, बुद्धराज तामाङ र कौस्तुभकेतन ढुंगानासँग प्रतिव्यक्ति पाँच–पाँच लाख तथा शंकरप्रसाद पाठकसँग दुई लाख ५० हजार र राकेश महर्जनसँग ५० हजार धरौटी माग भएको छ ।

सहकारीका कार्यालय सहयोगी संगीत श्रेष्ठ साधारण तारेखमा छुटेका छन् । प्रहरीले पक्राउ गर्नुभन्दा केही महिनाअघि मात्र उनी सहकारीमा आबद्ध भएका थिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धानका आधारमा गत महिना मुद्दा दायर गरेको थियो । सिआइबीमा एक हजार पाँच सयभन्दा धेरै निक्षेपकर्ताले पाँच अर्ब ७७ करोड ठगी भएको भन्दै जाहेरी दिएका थिए ।

पूर्वसांसदसमेत रहेका तामाङले आकर्षक ब्याजको प्रलोभनमा सहकारीमा पैसा जम्मा गर्न लगाई सहकारीको नियमविपरीत कर्जा आफ्नै कम्पनीको नाममा प्रवाह गरेका थिए । ती कम्पनीबाट भएको आम्दानी लुकाएर सहकारीको कर्जा नतिरेपछि संस्था समस्यामा परेको थियो ।

नयाँपत्रिकाबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *