मेरुदण्डको पक्षघात भएकाहरुबीच दमकमा मैत्रीपूर्ण बास्केटबल खेलाइयो
Published:
by .दमक । ‘स्पाईनल ईन्जुरी’ अर्थात मेरुदण्डको पक्षघात भएकाहरुबीच झापाको दमकमा मैत्रीपुर्ण बास्केटबल प्रतियोगिता भएको छ । लायन्स क्लव अफ झापा दमक र रोटरी क्लव अफ दमकको संयुक्त आयोजनामा शनिबार दमकमा यस्तो प्रतियोगिता भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारीले आफूले ह्विल चियरमा बसेर बास्केटवल खेलेको पहिलो चोटी देखेको भन्दै यो आत्मविश्वासलाई सबैले कदर गर्नु पर्ने बताइन् । फरक क्षमता भएकाहरुको यो एउटा साहस र आत्मविश्वास हो, उनले भनिन् ।
झापाको दमकमा भएको प्रतियोगितामा एक दर्जनभन्दा बढी खेलाडीहरुले ह्विल चियरमा बसेर मैत्रीपूर्ण बास्केटवल खेलेका हुन् । दुई समूहमा बाँडिएर खेलिएको मैत्रीपूर्ण प्रतियोगितामा स्पाईनल ईन्जुरी संघ प्रदेश १ का पदाधिकारी तथा सदस्यहरुले लगातर ४० मिनेटभन्दा बढी सहभागिता जनाए ।
‘वास्तवमा नै हामीले पनि अनुमान गरेका थिएनौं, ‘स्पाईनल ईन्जुरी’ भएकाहरु पनि बास्केटबल खेलमा यति अब्बल हुन्छन् भन्ने कुरा’ लायन्स क्लव अफ झापा दमकका अध्यक्ष अशोक चौधरीले भने । अग्रेजी महिनाको नयाँ बर्षमा यस किसिमको कार्यक्रम गर्दा आफूहरुलाई गर्व पनि लागेको उनले जनाए । आगामी दिनमा पनि यस प्रकारको कार्यक्रममा आफूहरुको साथ र सहयोग रहने उनका प्रतिबद्धता छ ।
रोटरी क्लव अफ दमकका अध्यक्ष भरत चम्लागाँईले रोटरी र लायन्स मिलेर सम्भवतः झापामा नै पहिलोपटक मेरुदण्डको पक्षघात भएकाहरुबीच यो मैत्रीपूर्ण खेल सम्पन्न भएको बताए । उनले भने, ‘आफूहरुले सधैं यस्ता कार्यलाई प्रोत्साहन गर्ने छौं र फरक क्षमता भएकाहरुको साथमा सधैं छौ र रहन्छौ ।’
लायन्स लिडर अजकुमार अग्रवालले लायन्स क्लव अफ झापा दमक र रोटरी क्लव अफ दमकको सहकार्यमा भएको यो फरक किसिमको कार्यक्रम फरक क्षमता भएकाहरुका लागि मात्र नभएर सबैका लागि एउटा हौसला भएको बताए । ‘स्पाईनल ईन्जुरी’ अर्थात मेरुदण्डको पक्षघात भएकाहरु कमजोर हुन्न रहेछन् भन्ने कुरा यो खेलले पुष्टि गरेको उनको भनाई छ ।
अपाङगता भित्रको अर्को अपाङगता स्पाइनल इन्जुरी भएको बताउँदै आफूहरु संगठित बन्दै गएको स्पाईनल ईन्जुरी संघ प्रदेश १ का अध्यक्ष बिक्रम घिमिरेले बताए । पूर्वमा पहिलोपटक आफूहरुले बास्केटबललाई ब्यवसायिक रुपमा अघि बढाउने जमर्को गरेको पनि उनको भनाई छ ।
Comments