Sajhamanch Archive

संक्रामक रोगबाट बचाउन पूर्वीद्वारमा ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ सञ्चालन

Published: in मुख्य समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by .

मेचीनगर । नेपाल प्रवेशको पूर्वीद्वार काँकरभिट्टामा नवनिर्मित ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ सञ्चालनमा ल्याइएको छ । मेचीनगर नगरपालिकाले निर्माण गरेको सुविधा सम्पन्न वेडसहितको हेल्थ हेल्प डेक्सको नगरप्रमुख विमल आचार्यले आज उद्घाटन गरेका हुन् ।

हेल्थ हेल्प डेक्सको उद्घाटन कार्यक्रममा मन्तब्य राख्दै नगरप्रमुख आचार्यले सबै सीमा क्षेत्रहरुमा स्वास्थ्य चेकजाँच गर्नका लागि नेपाल सरकारले धेरै वर्षदेखि स्वास्थ्य केन्द्र, चौकीहरु स्थापना गरेको स्मरण गरे । पछिल्लो समय कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सन्त्रास बढेकाले नेपाल प्रवेश गर्ने पूर्वी नाकामा हेल्थ हेल्प डेस्क सञ्चालनमा ल्याइएको नगरप्रमुख आचार्यको भनाई छ ।

उक्त हेल्थ डेस्क आजैदेखि सञ्चालनमा ल्याइएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । एउटा प्रारम्भिक उपचार केन्द्रका रुपमा यसलाई अंगिकार गर्दै सो नाकाबाट आवतजावत गर्ने हरेक मानिसहरुलाई परीक्षणको दायरामा ल्याउन लागिएको नगरपालिकाको स्वास्थ्य शाखाको भनाई छ ।

मेचीनगर नगरपालिका वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङको अध्यक्षतामा भएको ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा, जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य धनप्रसाद गुरुङलगयातले आफ्ना धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले गरेका थिए ।

मेचीनगर नगरपालिकाको पहलमा नेपाल सरकार स्वास्थ्य जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको करिब ५० लाख रुपैयाँको लागतमा हेल्थ डेक्सको कार्यालय निर्माणमा विनियोजन गरिएको हो । ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ निर्माणमा ४१ लाख ८४ हजार रुपैयाँ खर्च भएको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *