पृथ्वी जयन्तीः अष्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय नेपाली दिवस
Published:
by .न्यूसाउथवेल्स (अष्ट्रेलिया) । अष्ट्रेलियामा बस्ने नेपालीहरूले कोरोनाको नयाँ भेरियन्ट ओम्रिकोनको प्रभाव बढेको कारण ३००औं पृथ्वी जयन्ती तथा अन्तर्राष्ट्रिय नेपाली दिवस भर्चुअल रूपमा मनाएका छन्। नेपाली राष्ट्रियताका प्रणेता र आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको सम्मान र सम्झनामा अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूले पृथ्वी जयन्तीलाई ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’का रूपमा मनाएका हुन्।
जुम मार्फत भर्चुअल बनेको कार्यक्रममा अष्ट्रेलियाका विभिन्न राज्य तथा अमेरिका र क्यानडामा रहेका नेपालीहरूको समेत सहभागिता थियो। कार्यक्रममा सहभागीहरूले पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेर बलियो सुदृढ देशका साथै विश्व मानचित्रमा नेपालीलाई स्थापित गरेको बताए ।
सहभागी वक्ताहरूले नेपालमा बढ्दै गएको ध्रुविकरणप्रति चिन्ता व्यक्त गर्दै जात, धर्म, राजनीतिक आस्थाभन्दा माथि उठेर नेपाली पहिचानमा गर्व गर्ने वातावरण सृजना गर्नुपर्नेमा जोड दिएका छन् ।
अष्ट्रेलियाका नेपाली युवा सामाजिक अभियन्ता दिपक पौडेलले श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको नेपाल एकीकरणको अभियान र भूमिकाबारे टिप्पणी गर्ने हैसियत वर्तमानको राजनीतिक नेतृत्व र विभिन्न स्वघिषत अभियन्ताहरूको नरहेको बताए। उनले भने, ‘ईतिहासलाई गर्व नगर्ने र त्यसबाट नसिक्ने हो भने हामी नेपाली कहिल्यै अगाडि बढ्न सक्दैनौं।’
अष्ट्रेलियन नेपाली समाजका प्रसिध्द लेखक चिन्तक नवराज खरालले टिस्टा काँगडामा छुटेका नेपालीले देश गुम्दाको पीडा नेपाल भित्रका नेपालीले बुझ्न नसकेको टिप्पणी गरे । कार्यक्रमका अर्का वक्ता एनआरएन अष्ट्रेलियाका पूर्व प्रवक्ता तथा लेखा, वित्त तथा बैकिङ व्यवसायी डिला खरेलले नेपाली राष्ट्रियता र इतिहास विश्वभर छरिएका नेपालीहरूमा गर्वको रूपमा रहेको बताउँदै त्यसलाई दोश्रो तेश्रो पुस्तामा समेत स्थापित गर्नमा जोड दिनुपर्ने बताए। उनले पृथ्वी जयन्तीलाई अन्तर्राष्ट्रिय नेपाली दिवसको रूपमा अगाडि बढाएर विश्वभर छरिएका नेपालीहरूको गर्व र एकताको दिवस बनाउनु पर्नेमा जोड दिए ।
अन्तर्राष्ट्रिय नेपाली दिवस आयोजक समितिका संयोजक मदनमणि अधिकारीले अन्तराष्ट्रिय राजनीति, रणनीति र नेपालको अवस्थितिका कारण वर्तमानमा नयाँ न्यारेटिभ स्थापनाका लागि भएका चलखेलले हाम्रो आफ्नै इतिहास र पहिचानमा शंका र प्रश्न उठ्ने, नेपाली जातिको इतिहास र एकतालाई नै भताभुंग पार्ने अवस्था आइसकेको बताए। उनले भने ‘देशको संगिन घडीमा विश्वभर छरिएका नेपालीहरू सचेत र एक हुनुपर्छ भन्ने सन्देशका साथ नेपाली आत्मगौरव र आत्मबोधको चेत खोल्न पृथ्वीनारायण शाह माध्यम बन्न सक्छन् ।’
अष्ट्रेलियामा सामुदायिक पत्रकारिता गर्ने सरल गुरूङले यतिखेर नेपालीलाई पृथ्वीनारायण शाहजस्तै पात्रको आवश्यकता रहेको बताए। उनले भने, ‘हामी जात, धर्मलगायत अनेक नाममा विभाजित भएका छौं। अहिले नेपालीलाई एक पार्ने माला चाहिएको छ नेपालमा।’
त्यस्तै क्यानडामा रहेर अन्तर्राष्ट्रिय मिडियामा सम्लग्न अरूण बुढाथोकीले अहिले हल्ला चलेको जस्तो राज्य विस्तार नभई पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको बताए।
अष्ट्रेलियाको राजधानी क्यानबेराबाट गैर आवासीय नेपाली महासंघमा सक्रिय नेतृत्वमा रहेका महासचिव राजु अधिकारीले अन्तर्राष्ट्रिय नेपाली दिवसले अन्तर्राष्ट्रिय रूपमा नै नेपाली पहिचान स्थापना गर्न मद्धत पुग्ने बताए। पृथ्वीनारायण शाहलाई यसखालको दिवसको केन्द्रमा राख्दा नेपाल र नेपालीको राष्ट्रिय भावना समेटिने उनको कथन थियो।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)मा आवद्द अष्ट्रेलियन नेपाली साहित्यकार प्रकाश पौडेलले तल्कालिन ब्रिटिश साम्राज्यसँग जुधेर नेपालको सार्वभौमिकता कायम गरेको इतिहासलाई मानेर अगाडि जानुपर्ने बताए। उनले थपे, ‘इतिहासलाई कसैले पाना च्यातेर हराउन सकिँदैन। इतिहास मेटेर नेपाली नेपाली रहन सकिँदैन।’
पितृ मान्ने परम्पराबाट दिक्षित नेपालीहरूले नेपालीहरूको अहिलेको स्थान बन्नुमा पृथ्वीनारायणको भूमिकालाई सम्मान गर्दै राष्ट्रियताको जगेर्नामा लाग्नुपर्ने अर्का वक्ता सूर्य गौतमको कथन थियो।
अष्ट्रेलियाको न्यूसाउथवेल्समा पृथ्वीनारायणको सम्झना भर्चुअल भएपनि ब्रिजबेन, क्यानबेरा, मेलबर्न, एडिलेड, तासमानिया, डार्बिन लगायतका मुख्य शहरहरूमा पृथ्वीनाराय शाहको प्रतिमामा माल्यार्पण गरेर भौतिक रूपमा नै पृथ्वी जयन्ती तथा अन्तराष्ट्रिय नेपाली दिवश मनाईएको थियो।
नेपालीपेज डटकमले आयोजना गरेको भर्चुअल कार्यक्रममा अष्ट्रेलियामा क्रियाशिल बहुसंख्यक नेपाली सामुदायिक संस्थाहरूका प्रतिनिधिहरूको सहभागिता थियो।
Comments