‘साकोस सञ्चालनको छुट्टै मापदण्ड जारी हुँदै’
Published:
by .कनकाई । बचत तथा ऋण सहकारी संघ लिमिटेड झापाको १०औं वार्षिक साधारणसभा पुस २९ गते बिहीबार जामुनखाडी सिमसार क्षेत्रमा सम्पन्न गरिएको छ ।
बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कोन)का अध्यक्ष परितोष पौडेलको प्रमुख आतिथ्यमा वार्षिक साधारणसभा सम्पन्न गरिएको हो । साधारणसभामा उद्घाटन मन्तब्य राख्दै अध्यक्ष पौडेलले बचत तथा ऋण सहकारी संस्थाहरुको सञ्चालन सम्बन्धी छुट्टै मापदण्ड जारी गर्ने तयारी भएको जनाएका छन् ।
सहकारी सञ्चालन गर्ने नीति एवम् ऐन एउटै भएकाले उद्देश्यअनुसार फरक भएमा मात्र सार्थक कार्यान्वयन गर्न सकिने भएकाले साकोसका लागि छुट्टै मापदण्ड जारी गर्न लागिएको उनको भनाई छ ।
कार्यक्रममा मन्तब्य राख्नेक्रममा प्रदेश १ सहकारी संघका सचिव भवानीप्रसाद दंगालले सहकारी ऐन २०७४ मा व्यवस्था गरिएको सहकारी विकास कोष, स्थरीकरण कोषमा सहकारी संस्थाहरुले जम्मा गरेको रकम कहाँ कसले चलाइरहेको छ, किन कार्यान्वयनमा ल्याइँदैन भनी उठाएको जिज्ञासामा अध्यक्ष पौडेलले सो विषयमा निरन्तर छलफल भइरहेकाले चैतसम्ममा पूर्ण कार्यान्वयनमा जाने तयारी भएको बताए ।
सहकारी संस्थाहरुले अन्तर सहकारी बचत कारोबारलाई प्राथमिकता दिनुपर्ने सुझाव दिँदै नेफ्स्कोनका अध्यक्ष पौडेलले साधारणसभाबाट फर्किएर पहिलो काम आफ्नो संस्था र अर्को भरपर्दो संस्थाका बीच बचत कारोबार थालिहाल्न सुझाए । उनले भने अब वाणिज्य र विकास बैंक धाउने होइन, सहकारी बैंक वा सहकारी संस्थाहरुमा नै खाता सञ्चालन गरेर एकापसका परिपुरक बन्नुहोस् ।
साकोस वा वित्तीय सहकारीहरुका लागि ६ वटा कामहरु निर्धारण भएकाले सबै साकोसहरुले बचत, ऋण, रेमिट्यान्स, बीमा, पुँजीबजारमा लगानी तथा राष्ट्रिय वा सामाजिक पुँजी निर्माणमा जुट्नुपर्ने अबको दायित्व भएको उनको भनाई थियो ।
जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षतामा आयोजित साधारणसभामा उनले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
गत वर्षमात्र नेतृत्व परिवर्तन भएको जिल्ला बचत संघले सेयर सदस्य संख्या र शेयर रकम बृद्धि गर्ने तथा कोष, निक्षेपमा दोहोरो अंकले वृद्धिको योजना बनाएको छ । संघमा हाल १४९ वटा प्रारम्भिक संस्थाहरु सदस्य छन् भने १५ लाख ४४ हजार ५०० रुपैयाँ शेयर रकम रहेको प्रतिवेदनमा उल्लेख छ । यस्तै संघले निक्षेपको कारोबार गरी ८२ लाख १३ हजार रुपैयाँ परिचालन गरेको छ भने सदस्य संस्थाहरुमाझ ८२ लाख रुपैयाँ कर्जा लगानी गरिएको प्रतिवेदनमा उल्लेख छ ।
साधारणसभा उद्घाटन समारोहमा राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, नेफ्स्कोनका पूर्व कोषाध्यक्ष केशवप्रसाद पोखरेल, नेफ्स्कोनका सञ्चालक गोमा नेपाल, नेफ्स्कोनका सञ्चालक घनश्याम अधिकारी, जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङका अध्यक्ष सोमनाथ निरौला, प्रदेश १ सहकारी संघ र झापा जिल्ला सहकारी संघका सचिव भवानीप्रसाद दंगालले आ–आफ्ना धारणा राखेका थिए ।
साधारणसभाको सञ्चालन जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका सचिव यामकुमार चुँडालले गरेका थिए ।
Comments