मौरी झैं मेहनती बन्न प्रधानमन्त्री ओलीको पार्टी कार्याकर्तालाई निर्देशन
Published:
by .काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता कार्यकताहरुलाई मौरीजस्तै मेहनती बन्न निर्देशन गरेका छन् ।
वाम नेतृ साहाना प्रधानको चौथो स्मृतिसभालाई आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले कर्मीमौरीको झैं मेहनतले मात्र देश विकास हुने भन्दै “कर्मीमौरी झैं एकजुट भएर काममा लाग्नुहोस्, सबैको संयुक्त मेहनतले देश निर्माण हुन धेरै समय लाग्दैन” भनेका छन् ।
केही दिन पहिले प्रधानमन्त्री ओलीले नै आफ्ना कार्यकर्तालाई अरिङ्गालजस्तै एकीकृत भएर विपक्षीमाथि जाइलाग्न निर्देशन दिएका थिए ।
नेपालको वामपन्थी आन्दोलनमा साहाना प्रधानको भूमिका अग्रणी रहेको प्रधानमन्त्री ओलीको भनाई छ । साहानालाई महिला आन्दोलनकी नेतृको रुपमामात्र हेर्नु उपयुक्त नहुने भन्दै ओलीले भने “उहाँ नेपालको राजनीतिक र सामाजिक आन्दोलनको अग्रणी नेतृ हो ।”
२०४६ सालको जनआन्दोलनमा उहाँको भूमिकाले नै नेपालमा जनताका अधिकार पुनःबहाली गर्न सजिलो भएको हो ।
प्रधानमन्त्री ओलीले आफ्नो स्वार्थभन्दा देशको स्वार्थलाई केन्द्रमा राखेर काम गर्न पनि सबैलाई सुझाएका छन् । “आफ्ना आग्रह, पूर्वाग्रह छाडौं, आफ्नो होइन देशको स्वार्थलाई ध्यान दियौं भने देश विकास हुन धेरै समय लाग्दैन” प्रधानमन्त्री ओलीको भनाई छ ।
विगतमा वामपन्थीको भूमिकालाई निस्तेज पार्ने प्रयास भएकोले देश लामो समय पछाडि परेको बताउँदै उनले भनेका छन्, “वामपन्थीको भूमिकालाई काँग्रेसले स्वीकारेको भए २०१७ सालमा पञ्चायत स्थापना हुन सक्ने थिएन, फेरि पनि वामपन्थी सुझाव मानेको भए पञ्चायत त्यति लामो समय रहने नै थिएन ।”
Comments