Sajhamanch Archive

बुद्धशान्ति सहकारीको कारोबारमा उल्लेख्य वृद्धि

Published: in सहकारी by .

बुधबारे । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ३ मा रहेको बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अघिल्लो आर्थिक वर्षको तुलनामा ७८ दशमलव १७ प्रतिशतले शेयर पूँजी बृद्धि गर्न सफल भएको छ ।

आर्थिक वर्ष २०७३/०७४ मा ३३ लाख ७३ हजार ५०० रुपैयाँ शेयर पूँजी रहेकोमा आर्थिक वर्ष २०७४/०७५ मा बढेर ६० लाख १० हजार ६०० रुपैयाँ पुगेको छ ।

संस्थाको दोस्रो वार्षिक साधारणसभाका अवसरमा प्रस्तुत प्रतिवेदनमा आव २०७४/०७५ मा ४० लाख ९८ हजार ५६२ रुपैयाँ १८ पैसा निक्षेप संकलन गरेको जनाएको छ । त्यस्तै कर्जा लगानीतर्फ ८८ लाख ५५ हजार ८ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

संस्थाका अध्यक्ष पुष्पप्रसाद रिजालले गत आर्थिक वर्ष १ लाख १५ हजार ९१३ रुपैयाँ खुद नाफा गरेको जानकारी गराउँदै चालू वर्ष १० लाख रुपैयाँ नाफा गर्ने लक्ष्य राखेको बताएका छन् ।

सो सहकारीको कूल पूँजी २०३ दशमलव ५७ प्रतिशतले वृद्धि भई १ करोड ४ लाख ३८ हजार ६५५ रुपैयाँ पुर्याइएको छ । गत आर्थिक वर्ष ७१ जना शेयर सदस्य रहेकोमा आव २०७४/७५ सम्ममा ३६३ जना शेयर सदस्यहरु आवद्ध भएका छन् ।

कृषि कर्जा, शैक्षिक कर्जा, व्यावसायिक कर्जालाई प्राथमिकता दिएको सहकारीले शेयर सदस्य साथै स्थानीयलाई सहज रुपमा रेमिट सेवा उपलब्ध गराउँदै आएको जनाइएको छ ।

संस्थाले सदस्यहरुको व्यावसायिक, सामुहिक वा व्यक्तिगत रुपमा दैनिक प्रयोग भएका वस्तुहरुको महशुल सेवा पनि प्रदान गर्दै आएको व्यवस्थापक रुद्रप्रसाद निरौलाले जानकारी दिएका छन् ।

संस्थाका अध्यक्ष रिजालको अध्यक्षतामा भएको साधारणसभामा संस्थाका सचिव चन्द्र अधिकारीले शुभकामना मन्तव्य राख्दै कार्यक्रम सञ्चालन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *