Sajhamanch Archive

मेची प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट थपियो

Published: in मुख्य समाचार, समाज, स्वास्थ्य by .

भद्रपुर । कोरोना भाइरसको तेस्रो लहर तीब्र गतिमा बढिरहेका बेला बिरामीलाई सेवा दिन मेची प्रादेशिक अस्पताल भद्रपुरमा थप अक्सिजन प्लान्ट जडान गरी सञ्चालनमा ल्याइएको छ ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको पहलमा नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालय काठमाडौँले मेची अस्पतालमा जडान गरेको प्रतिदिन ११० सिलिन्डर उत्पादन गर्ने क्षमता भएको अक्सिजन प्लान्टको उद्घाटन गरिएको हो ।

चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष डा. लोचन कार्की, महासचिव डा. बद्री रिजाल लगायतको उपस्थितिमा कांग्रेस नेता सिटौलाले अक्सिजन प्लान्टको उद्घाटन गरेका हुन् ।

चिकित्सक संघको पहलमा चुजी फाउन्डेसन ताइवानले सो अस्पतालका लागि अक्सिजन प्लान्ट सहयोग गरेको सङ्घका केन्द्रीय अध्यक्ष डा कार्कीले जानकारी दिए ।

चुजी फाउन्डेसन ताइवानले मेचीसहित भोजपुर, पर्वत र कोसी अस्पताललाई अक्सिजन प्लान्ट दिएको उनले बताए । मेचीमा जडित अक्सिजन प्लान्टबाट एकैसाथ धेरै सिलिन्डर उत्पादनका लागि बुस्टर जडान आवश्यक रहेको समेत जनाए ।

मेची अस्पतालमा आउने विरामी अक्सिजन अभावमा मर्नुपर्ने बाध्यता अन्त्य गर्न आफू लागिपरेको प्लान्ट उद्घाटनका क्रममा नेता सिटोैलाले बताएका छन् । उनले बुस्टर जडानका लागि प्रदेश सरकार र स्थानीय सरकारले सहयोग गर्नुपर्ने पनि औंल्याएका छन् । त्यसका लागि आफूले पनि पहल गर्ने उनको भनाई छ ।

मेची अस्पताल सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. टङ्कप्रसाद बाराकोटीले अक्सिजन प्लान्टको बारेमा जानकारी दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *