Sajhamanch Archive

सहरको फोहोर व्यवस्थापन विकल्पहीन होइन

Published: (Updated: ) in रोचक कुरा / टिप्स, विचार/ब्लग, समाज, स्थानीय तह, स्वास्थ्य, by .

बिर्तामोड । पूर्वको ठूलो बजार बिर्तामोड आसपासको सडक क्षेत्र तथा भित्री बाटो र टोलमा जताततै फालिएको फोहोरले सहर नै दुर्गन्धित हुने गरेको छ । यसले मानिसहरुको स्वास्थ्यमा प्रत्यक्ष प्रतिकुल असर पुर्याएको पाइन्छ ।

सहरी क्षेत्र नै भए पनि यहाँ प्रायः सडकमा धुलो जमेको भेटिन्छ । प्लास्टिकजन्य फोहोरहरु जताततै देखिन्छ । सडक छेउछाऊमा रहेका फलफूल पसल, किराना पसल तथा अन्य ठूला पसलहरुबाट निस्कने फोहोर अब्यवस्थित तरिकाले सडकमा मिल्काउँदा यो अवस्था आएको हो । सँगसँगै निर्माणजन्य फोहोर तथा निर्माण सामग्रीको उचित ब्यवस्थापन नगर्दा झन् ठूलो समस्या भइरहेको पाइन्छ ।

बाटोको छेउ फुटपाथमा भाक्का, चटपटे, लत्ताकपडा, फलफूल वा ठेलाहरुमा फास्टफुड बेच्ने खुद्रा व्यापारीहरुले पनि फोहोरको व्यवस्थापनमा ठूलाहरुको सिको (?) गर्दा यहाँ प्रदुषणको मात्रा बढेर गएको मनकामना कलेजमा अध्यापनरत समाजशास्त्रका प्राध्यापक सुधिरकुमार सुवेदी बताउँछन् । ठूला ब्यापारी हुन् वा साना खुद्रा ब्यापारीले सामान प्याक गरेको प्लास्टिक, पान पराग तथा गुट्खाका खोलहरु यत्रतत्र फाल्नाले पनि सहरमा फोहोर बढेको हो । अझ स्पिडमा गुडेका सवारी साधनले यस्तो फोहोरलाई एक ठाउँबाट अर्को ठाउँमा उडाएर पुर्याइदिँदा जताततै प्लास्टिक छरिएको प्रत्यक्ष देख्न सकिन्छ ।

खाद्यबस्तु भएको सुँघेर थाहा पाउने कुकुरले थुप्रोमा फालेको फोहोरलाई उधिनेर यत्रतत्र छरिदिने गरेकाले झन् समस्या भएको छ । फोहोरलाई जलाउने प्रक्रियाले वातावरण दिनहुँ प्रदुषण भइरहेको छ । कुहिने फोहोरले गर्दा झिंगा भन्किने उक्त झिंगा खानेकुरा बस्ने त्यही खाना मानिसले उपभोग गरेपछि ज्वरो, रुघाखोकी, हैंजा र झाडापखालाजस्ता रोगहरुले मानिसहरुको स्वास्थ्यमा गम्भिर असर पर्दै आएको छ । सडक तथा बाटोको आसपास अव्यवस्थित रुपमा फालिएको फोहोरले सहरको आकर्षण घटाउने, मानिसहरुलाई हिंड्न कठिनाई हुने, दुर्गन्ध बढ्दै गएको छ ।

प्रत्येक व्यावसाय, पसल, घरहरुबाट, निर्माण कार्य तथा अन्य कारणले निस्कने फोहोरहरुबाट सडकको साइड र नालीमाथि थुप्रो लगाइएको हुन्छ । नगरपालिकाले हप्तामा दुईपटक फोहोर व्यवस्थापन गर्ने व्यवस्था गरेको छ । फोहोर फालेवापत पनि पैसा तिर्नुपर्ने भएकाले फोहोर व्यवस्थापन झन् कमजोर भएको हो । फोहोर संकलन गर्न आउने गाडीमा फोहोर फाल्न पैसा तिरेको हुनुपर्ने व्यवस्थाले सहरमा प्रदुषण बढ्दै गएको स्थानीय बासिन्दाको भनाई छ ।

‘फोहोर बापत पनि पैसा तिनुपर्ने भएकाले सबैले गाडीमा फोहोर फाल्दैनन् । जसले गर्दा फोहोरलाई जलाउने वा लुकेर फाल्ने प्रक्रियाले झन् संकट भइरहेको र फोहोर व्यवस्थापन गर्न नसकेको प्रष्ट देखिन्छ’ बिर्तामोड ४ का बद्री ओली बताउँछन् ।

सडक, बाटो र नाली दुर्गन्धित भएको अवस्थाबारे विर्तामोडका कल्पना श्रेष्ठ भन्छिन्, “सडक, बाटोहरु हिंड्न पनि असहज भइरहेको छ । कुहिएको फोहोरले गर्दा झिंगा भन्कने, गन्ध आउने समस्या छ । प्लाटिकका झोला, प्याकहरु हावाले उडाएर सहरभरि छरेको देख्दा स्थानीय सरकारले नै काम गर्न नसकेको हो कि जस्तो भान हुन्छ ।”

बिर्तामोडमा फलफूलको व्यापार गर्ने दिनेश सिटौलाको विचारमा “फोहोर व्यवस्थापन गर्ने ठाउँको अभाव छ । नगरपालिकाको फोहोर लाने गाडी हप्तामा २ दिन आए पनि हामीले फोहोरलाई उचित व्यवस्थापन गर्न सकेको छैनौं ।”

बिर्तामोडका रेडिमेड कपडा व्यापारी सुदिप बोहोरा भन्छन् “सामानहरु राखेर नै कोठा भरिएको हुन्छ । त्यही माथि फोहोर धेरै हुने गर्दछ । नगरपालिकालाई हामीले पैसा तिरेअनुसार फोहोर बोक्ने गाडी हप्तामा ३ पटकसम्म आउने व्यवस्था मिलाइएमा आफ्नोमा उत्पादित फोहोरलाई घरभित्रै राखेर गाडी आएपछि मात्र फोहोर फाल्दा चोक चोकमा फोहोर थुप्रँदैनथ्यो ।”

समयमा फोहोर उठाउने गाडी आफ्नो टोलमा नआउँदा फोहोर जलाउन बाध्य भएका कतिपय मानिसहरु पनि भेटिएका छन् । आफूहरु घर बाहिर गएको बेला गाडी आउँछ, फोहोर गाडीमा फाल्न पाइँदैन अनि त फोहोरलाई बाहिर फ्याक्नु वा जलाउनु बाध्यता नै हुने गर्छ ।

सहरमा फोहोरको डंगुर हुन नदिन आफ्नो घर, पसल वा कार्यालयबाट उत्पादित फोहोर घरमा वा आफ्नै पसलभित्र राखेर फोहोर उठाउने गाडी आएपछि साझै गाडीमा हालिदिएमा सबैभन्दा राम्रो हुने देखिन्छ । यस्तो गाडी हप्तामा १ पटक होइन ३–४ पटकसम्म पठाउने व्यवस्था नगरपालिका तथा यसको संकलन गर्ने ठेक्का पाएको ब्यवसायीले गरेमा सहरको फोहोर धेरै हदसम्म व्यवस्थापन गर्न सकिन्छ ।

नगरपालिकाले फोहोरलाई निःशुल्क रुपमा लैजाने साथसाथै फोहोरलाई बर्गीकरण गरी सड्ने, नसड्ने, पुनः प्रयोग गर्न मिल्ने वर्गमा छुट्याएर फोहोरबाट मोहर पनि कमाउन सकिन्छ । कुहिने फोहोरबाट कम्पोष्ट मल बनाएर बिक्री गर्न सकिन्छ । नकुहिने फोहोरलाई रिसाइकल गरेर आम्दानी लिन सकिन्छ । यसतर्फ पनि सरोकारवालाको ध्यान जान जरुरी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *