शिक्षा बहुउद्देश्यीय सहकारीले अर्को वर्षदेखि शिक्षालय सञ्चालन गर्ने
Published:
by .बिर्तामोड । बिर्तामोडको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले अघिल्लो वर्षको तुलनामा ऋण लगानी २५ दशमलव ७२ प्रतिशतले र निक्षेप संकलन २० प्रतिशतले बृद्धि गरेको छ ।
चालु आर्थिक वर्षमा ऋण लगानी ४० प्रतिशतले बृद्धि गरी १० करोड ५९ लाख रुपैयाँ हाराहारी पुर्याउने तथा बचतमा पनि ४० प्रतिशतले बृद्धि गर्ने लक्ष्य राखिएको संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले साधारणसभामा प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
आज आइतबार बिर्तामोड आयोजित छैठौं वार्षिक साधारणसभामा सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष न्यौपानेले आर्थिक वर्ष २०७४/०७५ मा ८ लाख १२ हजार ३३२ रुपैयाँ खुद नाफा गरेको जानकारी गराए । अघिल्लो वर्षको तुलनामा झण्डै चार गुणा बढी नाफा गर्न संस्था सफल भएको हो । अघिल्लो वर्ष करपछिको नाफा २ लाख ३१ हजार रुपैयाँ थियो ।
यस वर्ष संस्थाले २ लाख रुपैयाँभन्दा बढी राज्यलाई कर बुझाएको छ । संस्थाको कर अघिको सञ्चालन नाफा १० लाख १५ हजार ४१४ रुपैयाँ रहेको छ । संस्थाले आर्थिक वर्ष २०७४/०७५ मा व्याज लगायतका शीर्षकमा १ करोड ५० लाख ४४ हजार १७५ रुपैयाँ आम्दानी गरेको थियो भने १ करोड ४० लाख २८ हजार ७६० रुपैयाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।
झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाललको प्रमुख आतिथ्यमा सम्पन्न वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदन अनुसार संस्थाको शेयर पूँजी १ करोड २७ लाख ९३ हजार ८०० पुर्याइएको छ । अघिल्लो वर्ष संस्थाले ५ करोड ८२ लाख ३८ हजार ५१५ रुपैयाँ निक्षेप संकलन गरेको छ भने ७ करोड ५६ लाख ४८ हजार १७७ रुपैयाँ ऋण लगानी गरेको जनाइएको छ ।
सहकारीको माध्यमबाट शिक्षा क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित स्थापित सो संस्था अघिल्लो वर्ष मात्र बहुउद्देश्यीयमा रुपान्तरित भएको हो । संस्थाले आगामी शैक्षिक सत्रदेखि सानो तहमा भए पनि शिक्षालय सञ्चालन गर्ने योजना बनाएको अध्यक्ष न्यौपानेले बताए । ‘शिक्षालय सञ्चालन कै लागि भनेर संस्थाले केही जग्गा खरिद गरेको छ भने केही जग्गा दानमा प्राप्त गरेको छ’, उनले भने– ‘शिक्षालय सञ्चालन संस्थाको प्रमुख उद्देश्य नै हो, विविध कारणले केही ढिलो भएको मात्र हो ।’
उपाध्यक्ष कमला श्रेष्ठले स्वागत र सचिव दीपेश द्यौरालीले सञ्चालन गरेको समारोहमा यस वर्षको शिक्षा सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार राजु पाठकलाई पुरस्कृत गरियो भने कारोबारमा उत्कृष्ट सदस्यहरुलाई सम्मानित गरियो । नगदसहित पुरस्कृत पत्रकार पाठक बिर्तामोडबाट प्रकाशित मेचीखबर साप्ताहिकका सम्पादक हुन् ।
सम्मानित हुने उत्कृष्ट प्रवद्र्धकहरुमा हर्क सुब्बा, सुरेशकुमार कार्की र रामबहादुर कटुवाल रहेका छन् । उत्कृष्ट कर्मचारीको रुपमा दुर्गापुर सेवा केन्द्रका बजार प्रतिनिधि दीपा कट्टेल पुरस्कृत भएकी छिन् । उनीहरुलाई प्रमुख अतिथि ढकाले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।
यस्तै, साधारण बचततर्फ भगिरथ बराल, एकमुष्ट मुद्दतितर्फ भावना हिङमाङलाई सम्मान गरिएको छ । संस्थाको मुख्य कार्यालय अन्तर्गत रुक्म दाहाल (आवधिक), प्रस्तुति चौहान (शिक्षा) र दीपक मण्डल (ऋणी) सम्मानित भए । दुहागढी सेवा केन्द्र अन्तरगत होमकुमार राजवंशी (आवधिक), फूलमाया लिम्बू (शिक्षा) र तिलक विश्वकर्मा (ऋणी)लाइ सम्मान गरियो ।
संस्थाले शनिश्चरे सेवा केन्द्र अन्तर्गत गोपाल कार्की (आवधिक), प्रजय विष्ट (शिक्षा) र गीता बुढाथोकी (ऋणी) तथा दर्गापुर सेवा केन्द्रअन्तर्गत रामबहादुर श्रेष्ठ (आवधिक), अभिषेक शिवाकोटी (शिक्षा) र कल्पना कोइराला (ऋणी) लाई सम्मान गरेको छ ।
संस्थामा हाल २०४३ सदस्य रहेका छन् । त्यसमा पुरुषको संख्या ९९४, महिलाको संख्या १०४१ र संस्थागत सदस्य संख्या ८ रहेको प्रतिवेदनमा उल्लेख छ ।
साधारणसभाको उद्घाटन समारोहमा प्रमुख अतिथि जिल्ला संघका अध्यक्ष ढकालले सहकारीलाई उद्देश्यअनुरुप सञ्चालन गर्न सबै सहकारीकर्मीलाई आग्रह गरे । उनले निम्नवर्गका लागि सहकारीहरु आशा र भरोसाको केन्द्र रहेको पनि बताए ।
संस्थाका संस्थापक अध्यक्ष कृष्णप्रसाद मिश्र, सहकारी निरीक्षक डिल्ली दाहाल, राष्ट्रिय सहकारी बैंक बिर्तामोड शाखा प्रमुख सविना बस्नेत, इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी कृष्णप्रसाद कोइराला, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, पत्रकार तीर्थ सिग्देल, संस्थाको लेखा समितिका पूर्व सदस्य लीला बराल, हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष पृथ्वी ओलीलगायतले साधारणसभा सफल बनोस् भनी शुभकामना मन्तव्य राखेका थिए ।
Comments