Sajhamanch Archive

ओमनामा सिकेको सीप स्वदेशमा निखार्दै केक ग्यालेरीका बलराम

Published: in अर्थतन्त्र, मुख्य समाचार, by .

बिर्तामोड । नेपालमा रोजगारी नपाएर विदेशिएका बिर्तामोडका बलराम राजवंशी ओमानमा काम गर्दा सिकेको सिप सदुपयोग गरी अहिले आफ्नै ठाउँमा व्यवसाय गरी रमाउँदै परिवार चलाइरहेका छन् ।

अदक्ष श्रमशक्तिका लागि नेपालमा काम गर्ने अवसर प्रसस्त हुँदा पनि रोजगारीको खोजीमा विदेश जाने संख्या बड्दै छ । आफ्नै घरगाउँमा काम गर्न लजाउने, धकाउने तर विदेशी भूमिमा सानो काममा पनि अग्रसर हुने दक्षिणपूर्वी एशियामा जमात नै तयार छ । यही मेसोमा झापाली बलराम राजवंशी पनि विदेश लागेको स्वीकार गर्छन् ।

न्यून आयस्तरको परिवारको सदस्य भएकाले परिवार पाल्न कठिन हुँदै गएपछि रोजगारी कै खोजीमा बलराम ओमान पुगेका हुन् । कुनै सिप नजाने पनि म्यानपावर कम्पनीको लहैलहैमा धेरै पैसा कमाउन विदेश गएको उनी बताउँछन् । केही सिप नसिकी विदेशमा गएका उनलाई भाग्यवस बेकरी पसलमा काम गर्ने मौका मिलेको थियो ।

ओमान पुगेर बेकरीमा काम गर्न थालेपनि सुरुमा केही नजानेकाले सामान ओसारपसार जस्तो श्रमयुक्त काम गर्नुपरेको उनी स्मरण गर्छन् । त्यहाँ काम गर्दै गएपछि उनले बेकरी आइटम बनाउन सिके । केक, बिस्कुट, पाउरोटी, बर्थ डे केक र अन्य खानेकुरा बनाउने सीप संगाले । सिप सिक्दैथिए, काम गर्दै थिए अनि पैसा पनि कमाउँदै थिए । तर त्यतिबेला सम्ममा उनको भिजाको म्याद पनि सकिएको थियो ।

भिजाको म्याद सकिए पछि उनी स्वदेश फर्किए । अब फेरि विदेश गएर श्रम नखर्चने सोचमा उनी अडिग भए । तर काम केही छैन । अनि थोरै रकम जोडजाम गरेर उनले सानो व्यवसाय सञ्चालन गर्ने सोच बनाए । विदेशमा गरेको काम, खचिएको श्रम र मेहनत सबै अब आफ्नै ठाउँमा गर्छु भन्ने विचार बनाए । अनि विदेशमा कमाएर बचाएको थोरै रकम र केही रकम सरसापट गरेर एउटा बेकरी उद्योग सुरु गरे । बलराम भन्छन्, ‘बेकरी उद्योग त सुरु गरें तर आफूसँग भएको रकमले पर्याप्त काम गर्न नपुगेपछि १५ लाख रुपैयाँ ऋण लिएर व्यवसाय बिस्तार गरेँ ।’

बिर्तामोड वडा नं. ४ भद्रपुररोडको पश्चिमतिर ४ वटा कोठा मासिक १२ हजार रुपैयाँ भाडामा लिएर बलरामले दुईवर्ष अघिदेखि केक ग्यालेरी एण्ड बेकरी सपको सुरुवात गरेका छन् । विदेशमा यही प्रकृतिको काम गरेको अनुभवका कारण उनलाई बेकरीमा चाहिने सामान मेसिन, भाँडा, खाद्य पदार्थ लगायत सबै कुराको जानकारी थियो । बेकरी सुरु गर्न खासै कठिनाई नभएको राजवंशी बताउँछन् ।

बेकरीमा काम गर्न एक्लै नसकिने भएकाले २ जना युवालाई रोजगारी पनि दिएको उनी बताउँछन् । स्थापनाकालमा दैनिक ३–४ हजार रुपैयाँमात्र बिक्री हुने गथ्र्यो । आफ्नो व्यापार सुस्त गतिमा चलिरहेको देख्दा उनलाई लागनी गरेको ऋण तिर्न नसकिएला कि भन्ने ठूलो चिन्ता थियो । तर उनले हार नमानी निरन्तरता दिए । पछि होम डेलिभरिको पनि सेवा दिन सुरु गरे । व्यवसाय पनि पहिलाभन्दा धेरै फस्टाउन थाल्यो र दिन प्रतिदिन धेरै अर्डर आउनाले दैनिक आम्दानीमा यतिबेला राम्रै बृद्धि भएको बलरामको भनाई छ ।

व्यवसाय बढ्दै गएपछि उनले लिएको ऋण पनि तिरिसकेको बताउँछन् । उपभोक्ताबाट आएका अर्डरहरु उनी आफैं पुर्याउन जाने गर्छन् । उनका अनुसार जब अर्डरहरु घर–घरमा पुर्याउने सेवा दिन सुरु गरियो त्यसपछि व्यापारमा पनि वृद्धि हुनथाल्यो । राजवंशी भन्छन् “विदेशमा गएर काम सिकियो अब आफ्नो गाउँ ठाउँ भनेको आफ्नै हो सानो लगानीबाट सुरु गरेर पनि व्यवसाय सफल पार्न सकेको छु ।’’

राजवंशीले यतिबेला आफू र श्रीमती बाहेक अन्य ४ जनालाई रोजगारी दिएका छन् । त्यहाँ कार्यरत कर्मचारीहरु पनि आफूहरुले घरमा नै बसेर सिपयुक्त रोजगारी पाएकोमा दंग छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *