साहित्य चौतारीद्वारा अग्रज स्रष्टा र बालगायिकालाई सम्मान
Published:
by .बिर्तामोड । साहित्य चौतारी झापाले अग्रज स्रष्टाहरु, सारेगमप लिटिल च्याम्पस् र द भ्वाइस अफ किड्सका विजेता तथा उपविजेतालाई सम्मान गरेको छ ।
होटल हिकोला हेरिटेज काँकरभिट्टाको तेश्रो वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको पर्यटन प्रवद्र्धनमा साहित्य, कला संगीत र संस्कृतिको भूमिका विषयक कार्यक्रमका बीच उक्त सम्मान गरिएको हो ।
साहित्य चौतारीले संस्थाका संस्थापक सल्लाहकार अग्रज साहित्यकार सरोज ओली र अर्का सल्लाहकार तथा दीर्घ शिक्षासेवी लोकनाथ पौड्याललाई अग्रज स्रष्टा सम्मान गरेको हो ।
साहित्य, कला, भाषा, संस्कृति, परम्परा, आध्यात्मिक दर्शनको क्षेत्रमा अनवरत रुपमा पुर्याएको योगदान तथा साहित्य चौतारी झापाको स्थापनादेखि हालसम्म अभिभावकीय भूमिका निर्वाह गरेको भन्दै उनीहरुलाई सम्मान गरिएको संस्थापक देवीभक्त श्रेष्ठले जनाएका छन् ।
साहित्य चौतारीले स्रष्टा ओलीलाई शनिश्चरेस्थित निवासमा नै पुगेर सम्मान गरेको हो । यस्तै संस्थाका सल्लाहकार तथा दीर्घ शिक्षासेवी लोकनाथ पौड्याललाई सम्मान–पत्र, दोसल्ला, फूलमाला, अविर टीका तथा खादा लगाएर सम्मान गरिएको हो ।
कार्यक्रममा गायन रियालिटी सो सारेगमप लिटिल च्याम्प्स नेपालका विजेता कृपा पौडेल र उप–विजेता रोशा फूयाल तथा द भ्वाइस अफ किड्स नेपालको विजेता जेनिस उप्रेती र उपविजेता अनुजा कडरियालाई पनि सम्मान गरिएको थियो । उनीहरुलाई सम्मान–पत्र, दोसल्ला, खादा,अविर टीका, फूलमाला र मायाको चिनोद्वारा सम्मान प्रदान गरिएको हो ।
कार्यक्रममा सारेगमप लिटील च्याम्पस् र द भ्वाइस अफ किड्सका विजेता तथा उपविजेतालाई एउटै मञ्चमा उपस्थित गराएर सम्मान गरेकोमा तिनका मातापिताले साहित्य चौतारीको प्रशंसा गरेका थिए ।
कार्यक्रममा पर्यटन प्रवर्धनमा साहित्य, संगीत, कला र संस्कृतिको भूमिकाको विषयमा साहित्यकार बिनोद खनालले कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश सदस्य कुमार भट्टराईले पर्यटन प्रवर्धनमा साहित्य, संगीत, कला र संस्कृतिको भूमिका महत्वपूर्ण भएको बताएका थिए ।
कार्यक्रममा सम्मानित व्यक्तित्व दीर्घ शिक्षासेवी पौड्याल र प्रमुख अतिथि कोमलप्रसाद पोखरेलले साहित्य चौतारीले गरेको कार्यको प्रशंसा गरेका थिए ।
Comments