पाँचौं झापा गोल्डकपको मस्कट र गीत र नारा सार्वजनिक
Published: (Updated: )
by .बिर्तामोड । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्ड कपको पाँचौँ संस्करणलाई अझ उत्कृष्ट, भव्य र परिष्कृत बनाउन पहिलोपटक औपचारिक गीत निर्माण गरेर सार्वजनिक गरिएको छ ।
झापाको भूगोल र यहाँको फुटबलप्रतिको लगावलाई समेट्दै जिल्लालाई फुटबल हबको रुपमा विकास गर्ने उद्देश्यले गीत निर्माण गरिएको गोल्डकप समितिको भनाई छ । गीतकार बसन्त थाम्सुहाङको रचना रहेको गीतमा पारस मुकारुङले संगीत भरेका छन् भने उक्त गीतमा गायक डम्बर नेपाली, भीषण मुकारुङ, सुनिता थेगिम र दिपा लामाको स्वर रहेको छ ।
त्यस्तै, पाँचौँ झापा गोल्ड कपको औपचारिक मस्कटका रुपमा हात्तीको छावालाई प्रतिनिधित्व गराइएको छ । छावाले फुटबल किक गर्दै गरेको प्रतिकका रुपमा मस्कट निर्माण गरिएको छ । मस्कटको निर्माण कलकार पवन राजवंशीले गरेका हुन् ।
यो वर्षको झापा गोल्ड कपको नारा ‘हाम्राे गाैरव हाम्राे मान, झापा गाेल्डकप हाम्राे शान’ तय गरिएको छ । झापामा स्थायी रंगशाला निर्माण गर्ने उद्देश्यका साथ यो नारा सार्वजनिक गरिएको आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
झापाबासीकै प्रतिष्ठासँग जोडिएको सो प्रतियोगितालाई सानदार ढंगले सफल बनाउन झापाली उद्योगी, व्यवसायी र खेलप्रेमी महानुभावहरु पत्रकार, मिडिया हाउसहरुको भूमिका महत्वपूर्ण रहने भएकोले सम्पूर्ण उद्योगी, व्यवसायी, पत्रकार साथीहरुलाई साथ र सहयोगको लागि अपील पनि गरिएको छ ।
झापा गोल्ड कपका अध्यक्ष बिनोद बस्नेतद्वारा हस्ताक्षरित तथा पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा भनिएको छ, ‘झापा गोल्डकपलाई एउटा सामाजिक तथा स्थापित संस्थाको रुपमा अगाडि बढाउन र जिल्लामा नै अगुवा संस्थाको रुपमा चिनाउन सबैखाले सामाजिक अभियानसँग जोडेर आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व सहितको रचनात्मक कार्यहरुमा यस संस्थालाई सक्रियताका साथ अगाडि बढाउने प्रतिबद्धता गर्दछौँ ।’
Comments