Sajhamanch Archive

बालक्लब फोकल पर्सन र विद्यार्थीलाई बिर्तामोडमा तालिम

Published: in शिक्षा, स्थानीय तह by .

बिर्तामोड । बालमैत्री विद्यालय निर्माणका लागि बालक्लव फोकल पर्सन तथा बाल क्लव अध्यक्षहरुका लागि २ दिने प्रशिक्षण आज सम्पन्न भएको छ ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाभरका ७५ वटा सामुदायिक, संस्थागत एवम् धार्मिक विद्यालयका बालक्लव फोकल पर्सन शिक्षक एवम् बालक्लवका अध्यक्षहरुको सहभागिता थियो ।

बिर्तामोड नगरपालिकाको वित्तीय सहयोगमा बालबालिका तथा शिक्षा संचार मञ्च नेपालसँगको समन्वयमा समय सञ्जाल मिडियाले तालिमको आयोजना गरेको हो ।

कार्यक्रमको पहिलो दिन हिजो फोकल पर्सन शिक्षकहरुको सहभागिता रहेको थियो भने दोश्रो दिन आज बालक्लवका अध्यक्ष तथा समितिमा आवद्ध विद्यार्थीहरुको सहभागिता थियो ।

कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईले बालबालिका देशको भविष्य भएकाले उनीहरुको अधिकार र विकासका लागि नगरपालिकाका तर्फबाट सक्दो पहलकदमी लिइने बताइन् ।

कार्यक्रमका अर्का वक्ता नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख तिलचन भण्डारीले बालबालिकाको सर्वागिंण विकासको लागि शिक्षकहरुको भूमिका महत्वपूर्ण हुने भएकाले शिक्षकहरुलाई तालिम मार्फत सो सम्बन्धी जानकारी दिन तालिम उपयोगी हुने बताए ।

यसैगरी, प्याब्सन बिर्तामोडका अध्यक्ष उत्तम खनालले कोभिड महामारी एवम् अन्य कारण संस्थागत विद्यालयमा बालक्लवका लागि गर्नुपर्ने जति काम गर्न नसकिएको स्वीकार्दै आगामी दिनमा बालबालिका तथा शिक्षा संचार मञ्चसँगको सहकार्यमा रणनीतिक योजना निर्माण गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।

दोस्रो दिन बालक्लब आवद्ध बालबालिकासँगको अन्तरक्रिया उद्घाटन कार्यक्रममा साझामञ्च डटकमका सम्पादक गोपाल काफ्लेले बालमैत्री मिडिया निर्माणमा आफू सकारात्मक रहेको र निरन्तर सहकार्य गर्ने बताए । बालक्लब र विद्यालयले धेरै काम गर्न आवश्यक रहेको र आगामी दिनमा स्थानीय सरकारसँग समन्वय गरेर गतिविधि गरिने उनको भनाई छ ।

कार्यक्रम संयोजक सरोज पौडेलको अध्यक्षतामा सम्पन्न दुई दिने तालिम कार्यक्रमको सहजीकरण राष्ट्रिय बाल अधिकार परिषद्का अधिकृत सुमन अधिकारीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *