सन् २०२२ को टी–२० विश्वकपमा खेल्ने नेपालको चाहाना अधुरै
Published:
by .झापा । सन् २०२२ को अक्टोबर–नोभेम्बरमा अष्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्ने नेपालको लक्ष्य आजबाट सकिएको छ । आज युएई विरुद्धको खेलमा ६८ रनले पराजित भएसँग नेपाल असफल भएको हो ।
१७६ रनको लक्ष्य पछ्याएको नेपालले १८ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १०७ रनमात्र बनाउन सकेको थियो । ८ वर्षपछि पुनः विश्वकपमा पुग्ने निर्णायक खेलमा नेपाल युएईसँग पराजित भएको हो ।
ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा मंगलबार युएईविरुद्ध नेपालले बलिङ र ब्याटिङ दुवैमा अपेक्षाकृत प्रदर्शन गर्न सकेन ।
ग्लोबल क्वालिफायरमा आफ्नो समूहको सबै खेल जितेर सेमिफाइनलमा पुगेको नेपाल युएईविरुद्ध निरीह बन्दा विश्वकप छनोटको नजिक पुगेर पुनः विश्वकप खेल्नबाट वञ्चित भएको हो । नेपालले पहिलोपल्ट सन् २०१४ मा टी–२० विश्वकप खेलेको थियो ।
मंगलबार नै भएको अर्को सेमिफाइनलमा ओमानलाई ५६ रनले हराउँदै आयरल्याण्ड पनि विश्वकपका लागि छनोट भएको छ । आयरल्याण्डले दिएको १६६ रनको लक्ष्य पछ्याएको घरेलु टोली ओमान १८।३ ओभरमा १०९ रनमा अलआउट भयो । ग्लोबल क्वालिफायरको फाइनलमा युएई र आयरल्याण्डले प्रतिस्पर्धा गर्नेछन् ।
Comments