झापाको गौरीगञ्जमा कृषि उपज बैँकको सुरुवात, मन्त्री दर्लामीले गरे उद्घाटन
Published:
by .गौरीगञ्ज । दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका अन्तरगत महाभारा क्षेत्रका कृषकलाई लक्षित गरी प्रदेश सरकारले साना किसान कृषि सहकारी मार्फत कृषि उपज बैंक गोदाम घर निर्माण गरी सरकारको समर्थन मूल्यमै धान खरिद गर्न सुरु गरेपछि कृषकहरु लाभान्वित भएका छन् ।
गौरीगञ्ज गाउँपालिका वडा नं. १ माहाभारामा तत्कालिन भूमि व्यावस्था तथा सहकारी मन्त्रालयबाट ७२ लाख ८४ हजार ५१२ रुपैयाँ र आधा रकम सहकारीको गरी एक करोड ४८ लाख रुपैयाँमा गोदाम घर निर्माण गरिएको हो । उक्त खाद्यान्न गोदाम घरको प्रदेश १ का कृषिमन्त्री झलकसिंह दर्लामीले शनिबार उद्घाटन गरेका छन् ।
कृषकहरुले कृषि उपजको यकिन मूल्य नपाउँदा व्यापारीलाई सस्तैमा आफ्नो उत्पादन बिक्री गर्नुपरेको अवस्थामा सरकारको यस्तो कार्य सराहनीय रहेको साना किनान सहकारी संस्था महाभाराका अध्यक्ष तिलचन्द्रसिंह राजवंशी बताउँछन् । हाल गोदाम घरमा कृषकहरुबाट खरिद गरिएको २० हजार मन धान समर्थन मूल्यमै खरिद गरिसकिएको राजवंशीको भनाई छ ।
सरकारको सहयोगमा निर्माण गरिएको गोदाम घरमा ३५ हजार मनसम्म खाद्यान्न सञ्चित गरेर राख्न सकिने राजवंशीले बताए । अहिले पनि गाउँमा धानको मूल्य ९८० रुपैयाँका दरले व्यापारीलाई बिक्री गर्नुपरिरहेकोमा साना किसानले ११ सय रुपैयाँसम्ममा खरिद गरिदिएर ठूलो राहत मिलेको स्थानीय कृषक खेम राजवंशीले बताएका छन् । साना किसान सहकारीमा हाल ८४० कृषक शेयर धनी रहेको जनाइएको छ ।
कृषकको खाद्य गोदाम घरको उद्घाटन गर्दै प्रदेश १ का कृषिमन्त्री दर्लामी मगरले कृषकको उत्पादनले उचित मूल्य पाएपछि बिचौलियाबाट मुक्त भएको बताए । उनले भने अझै पनि कृषकहरु निर्वाहमुखी खेतीमै भर परिरहेको अवस्था छ तर सरकार चाहिँ कम्तीमा सबै कृषकलाई चक्लाबन्दी खेती र व्यवसायिक हुनका लागि मद्धत गर्न लागिपरेको छ । प्रदेश सरकार यहीँका कृषकहरुको पौरखमार्फत देशमै समृद्धि ल्याउने काममा अगाडि बढिरहेको मन्त्री दर्लामीको भनाई छ ।
कार्यक्रममा प्रदेश कृषि मन्त्रालयका प्रवक्ता तथा निमित्त सचिव राजेन्द्रप्रसाद उप्रेतीले प्रदेश १ का लागि केही दिनभित्रै २ लाख बोरा रासायनिक मल आउन लागेको जानकारी दिँदै धान खेती अगाडिसम्मका लागि युरिया मल बाहेक डिएपी र पोटासको कमी नहुने अवगत गराए ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले कृषकलाई प्रविधिमैत्री बनाउन सरकार लागिपरेको बताए । सोही कार्यक्रममा वडा कार्यालयको आधा अनुदानमा कृषकलाई ४० थान स्प्रे ट्याङ्कीसमेत प्रदान गरिएको थियो ।
Comments