महेन्द्रपार्कमा निर्माणाधिन सार्वजनिक शौचालय अलपत्र
Published:
by .भद्रपुर । झापाको सदरमुकाम चन्द्रगढी–भद्रपुर क्षेत्रमा अतिआवश्यक सार्वजनिक शौचालय निर्माण कार्य थालेर पनि लामो समयदेखि अवरुद्ध छ । झण्डै एक वर्षअघि सुरु भएको शौचालय निर्माणकार्य अलपत्र हुँदा सरकारी काम लिएर सदरमुकाम आउने सेवाग्राही शौचको पीडा पाल्न बाध्य छन् ।
रोटरी क्लब अफ भद्रपुरले दुई महिनामा निर्माण सम्पन्न गर्ने गरी गत वैशाख ८ गतेबाट निर्माण थालेको उक्त सार्वजनिक शौचालय ११ महिना वित्न लाग्दा समेत अधुरो रहेको हो । सरकारी कार्यालय क्षेत्र चन्द्रगढीमा व्यवस्थित सार्वजनिक शौचालय नहुँदा सेवाग्राहीले शौच गर्न नपाएर समस्या झेलिरहेको प्रति लक्षित गरेर निर्माण थालिएको थियो ।
रोटरी क्लब अफ भद्रपुर र झापाली समाज अष्ट्रेलियाको संयुक्त लगानी तथा भद्रपुर नगरपालिकाको सहयोगमा निर्माण गरिने शौचालयको नगरप्रमुख जीवनकुमार श्रेष्ठले शिलान्यास गरेका थिए ।
६ वटा पेन र ४ वटा युरिनसहितको महिला तथा पुरुषको छुट्टाछुटै शौचालय निर्माण गरिने लक्ष्यका साथ काम थालिएको भए पनि केही महिनायता निर्माण कार्य अलपत्र देखिएको हो ।
चन्द्रगढीस्थित ट्रेड युनियन चोक नजिकै रहेको महेन्द्र पार्कमा जोडेर सार्वजनिक शौचालय बनाउन रोटरीले थालेपछि समस्या झेल्दै आइरहेका सेवाग्राहीको समस्या हल हुने विश्वास लिइएको थियो ।
१५ लाख रुपैयाँको लागतमा दुई महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने योजना अनुसार काम थालिएको भएपनि शौचालय निर्माण सम्पन्न कहिले हुने हो अझै निश्चित हुन सकेको छैन ।
सदरमुकाम क्षेत्रमा सरकारी सेवा लिन आउने आमनागरिकलाई सेवा पुग्ने विश्वासमा निर्माण पक्षको उदासिनताले अलपत्र देखिएको छ ।
रोटरी क्लब अफ भद्रपुरका अध्यक्ष विगत ओझा निर्माण ढिला हुनुको पछाडि रकम अभाव र कोरोनाबाट उत्पन्न विषम परिस्थिति रहेकाले तत्काल निर्माण सम्पन्न नहुने बताउँछन् ।
Comments