इटहरीमा जनप्रतिनिधिले गरे ‘ड्रिम प्रोजेक्ट’को शिलान्यास
Published:
by .इटहरी । इटहरी उपमहानगरपालिकाको नगर गौरवको सबैभन्दा ठूलो योजना कोल्ड स्टोरसहितको आधुनिक कृषि बजारको आज शिलान्यास गरिएको छ ।
इटहरी वडानम्बर ९ हाटखोलामा उपमहानगरका प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले संयुक्तरुपमा आधुनिक कृषि बजारको शिलान्यास गरेका हुन् । इटहरी उपमहानगरपाकिाका वरिष्ठ इन्जिनियर जीवन घिमिरेका अनुसार २५ करोड ६ लाख ५ हजार रुपैयाँको लागतमा कोल्ड स्टोरसहितको कृषि बजार निर्माण हुने भएको हो ।
कृषि बजारमा ६ लाख केजी सामाग्री एकैपटक भण्डारण गर्न सकिने कोल्ड स्टोर रहनेछ । तरकारी र फलफूलजन्य सामाग्रीको बिक्रीकक्ष, एटिएम सहितको बैंक, प्रशासनिक भवन, आवास कक्ष, दुईवटा धर्मकाँटा, १० वटा थोक बिक्री कक्ष निर्माण गरिने छ ।
यो वर्ष संघीय सरकारले २ करोड २९ लाख अनुदान पठाएको छ । दुईवर्षमा निर्माण सकिने कृषि बजारका लागि क्रमागत बजेट उपलब्ध हुने जनाइएको छ । उपमहानगरपालिकाबाट ५० प्रतिशत लागत सहभागिता रहने वरिष्ठ इन्जिनियर घिमिरेले बताएका छन् । यो वर्ष प्रदेश सरकाले १ करोड रुपैयाँ उपलब्ध गराएको छ ।
शिलान्यास समारोहलाई सम्बोधन गर्दै इटहरी उपमहानगर पालिकाका प्रमुख द्वारिकलाल चौधरीले उपहानगर पालिकाका जनप्रतिनिधिको पहल र जनताले गाँस काटेर बुझाएको करबाट इटहरीमा विकास निर्माणले गति लिएको बताए । पूर्वाधार निर्माणमा नगरपालिकाको योगदानले इटहरीमा ठूलो परिवर्तन आएको उनको भनाई छ । इटहरीको विकासमा दलहरुबीच राम्रो सहिष्णुता रहेको प्रमुख चौधरीले बताए ।
उपप्रमुख लक्ष्मी गौतमले कृषि बजार इटहरीको गहनाको रुपमा रहने बताउँदै इटहरीका जनप्रतिनिधिले सुरुवात गरेको ड्रिम प्रोजेक्टले विकासमा एउटा ईंटा थपेको बताइन् । उनले भनिन्, ‘कहीँ कतै बेइमानी नगरी, भ्रष्टाचार नगरी इटहरीको पूर्वाधार निर्माणमा उल्लेख्य कार्य भएको छ ।’
शिलान्यास कार्यक्रमका अर्का वक्ता उपमहानगर पालिकाका प्रमुख प्रशासकीय अघिकृत रामचरित्र मेहताले कृषि प्रधान देश भएकाले कोल्ड स्टोरको उल्लेख्य महत्व हुने बताए । कोल्ड स्टोर र कृषि बजारका कारण रोजगारीको अवसर सृजना हुने उनको भनाई छ ।
Comments