Sajhamanch Archive

मेचीनगरको बिन्ती साकोस अब आफ्नै भवनमा

Published: in अर्थतन्त्र, सहकारी by .

मेचीनगर । मेचीनगर–८ मा केन्द्रीय कार्यालय रहेको बिन्ती बचत तथा ऋण सहकारी संस्थाले दैनिक कार्यसम्पादन तथा सदस्यहरुलाई आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । आज शनिबार एक कार्यक्रमका बीच नवनिर्मित भवनको उद्घाटन गरिएको हो ।

संस्थाका अध्यक्ष दशरथ खडियाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष विश्वेश्वरप्रसाद भट्टराईको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष होमराज गुरुङ, दुर्गेश्वरी कृषि सहकारी संस्थाका सचिव रेवन्तराज पोखरेल, पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक प्रल्हाद खड्कालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका उपाध्यक्ष प्रेमबहादुर देवकोटा (विकास)ले स्वागत गरेको कार्यक्रमको सञ्चालन लेखापाल किशोरकुमार सार्कीले गरेका थिए ।

२०६५ सालमा २९ जना शेयर सदस्यबाट एक हजार रुपैयाँका दरले जम्मा २९ हजार शेयर पुँजीबाट सुरु गरिएको संस्थाले हाल ३० लाख रुपैयाँभन्दा बढी शेयर कारोबार गरेको जनाइएको छ ।

ग्रामीण क्षेत्रबाट बचत संकलन गरी ग्रामीण क्षेत्रमै सहकारी सञ्चालन गर्न चुनौतिपूर्ण कुरा हो, तथापी आफैं संस्थाबाट अधिकतम् आर्थिक कारोबार गरी यसलाई अगाडि बढाउँदै लैजाने संस्थाका अध्यक्ष दशरथ खडियाले बताए ।

सदस्यहरुले बजारमा पाउने सुविधा अब गाउँमै सहकारीको माध्यमबाट उपलब्ध गराउने योजना रहेको अध्यक्ष खडियाले जानकारी दिए । सदस्यहरुको मागलाई ध्यानमा राख्दै संस्थाले निकट भविष्यमा नै सहकारी पसल सञ्चालनमा ल्याउने योजना रहेको अध्यक्ष खडियाले जानकारी दिए ।

गरिबीका रेखामुनी रहेका मजदुर, किसान, विपन्न तथा साना व्यवसायीको छरिएर रहेको पुँजीलाई एकीकृत गरी बचत गर्ने बानीको विकास भएको अध्यक्ष खडियाको भनाई छ । संस्थाको पहिलो सेवा केन्द्र सिर्जना चोकमा चाँडै सञ्चालनमा ल्याउने संस्थाका व्यवस्थापक आरती उराँवले जानकारी दिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *