बिर्तामोडमा भब्य मनाइयो सतासी बहुउद्देश्यीय सहकारी संस्थाको २५औं स्थापना दिवस तथा सम्मान कार्यक्रम
Published: (Updated: )
by .बिर्तामोड । झापाको बिर्तामोड–५ कृषि थोकबजारस्थित सतासी बहुउद्देश्यीय सहकारी संस्थाको २५औं स्थापना दिवस तथा वार्षिकोत्सव समारोहमा कर्मचारी तथा उत्कृष्ट कारोबारीहरुलाई सम्मान गरिएको छ ।
प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा भएको वार्षिकोत्सव समारोहमा अध्यक्ष रुद्रमणि श्रेष्ठले संस्थाको वित्तीय विवरणसहित प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदनमा फागुन २१ गतेसम्म शेयर सदस्य संख्या छ हजार २३५, शेयर पूँजी सात करोड १५ लाख, निक्षेप संकलन ४३ करोड ५० लाख, ऋण लगानी ५४ करोड, विभिन्न कोषहरु सात करोड पाँच लाख गरी ८० करोडको वासलात बनाइएको उल्लेख छ ।
संस्थाले चालू आर्थिक वर्षमा ४३ लाख ५० हजार रुपैयाँ नाफा आर्जन गरेको जनाउँदै अध्यक्ष श्रेष्ठले संस्थाका छ वटा सेवाकेन्द्र र चार वटा सहकारी पसल सञ्चालनमा रहेको विवरण प्रस्तुत गरे ।
अध्यक्ष रुद्रमणि श्रेष्ठको अध्यक्षतामा संस्थाका उपाध्यक्ष सुजता गुरुङ थापा मगरले शाव्दिक स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथिलगायतको हातबाट पुरस्कार तथा सम्मान गरिएको छ ।
वार्षिकोत्सवको अवसरमा संस्थाको उत्कृष्ट कर्मचारीका रुपमा लेखा तथा आइटी विभाग प्रमुख उज्ज्वल प्रधान र उत्कृष्ट सेवाकेन्द्र तथा कार्यालय प्रमुखका रुपमा हल्दीबारीका शारदा न्यौपानेलाई पुरस्कार तथा सम्मान गरियो ।
यस्तै उत्कृष्ट बजार प्रतिनिधि स्वेता भुजेल बिर्तामोड र सहकारी पसल तर्फको उत्कृष्ट कर्मचारी फ्लोर इञ्चार्ज उर्मिला भुजेललाई सम्मानपत्र तथा पुरस्कार हस्तान्तरण गरियो ।
संस्थाले उत्कृष्ट बचतकर्ताका रुपमा आस्मा वेगम, अशोक अधिकारी, सुचित्रा मण्डल, मिमि शाक्य, मुना भुजेल र लिलादेवी गामीलाई सम्मान गरेको छ । यस्तै, असल ऋण कारोबारी गणेश साह कसेरा, रञ्जु गुप्ता श्रेष्ठ, सत्यकला राई, मनकुमारी थाम्सुहाङ, किलोसिंह राजवंशी र रविन्द्र राजवंशीलाई सम्मान गरिएको छ ।
संस्थाले विगत वर्षमा जस्तै डोनेशन बक्समा जम्मा भएको रकममा संस्थाबाट पनि केही रकम थप गरी १० हजार रुपैयाँ बिर्तामोडमा रहेको परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रमलाई प्रदान गरेको छ । उक्त रकम परोपकार तथा अनुसन्धान केन्द्रका उपाध्यक्ष सूर्यनारायण गणेशले ग्रहण गरेका थिए ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल, शिखर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र राउत, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, नेपाल चेम्बर अफ कमर्श प्रदेश १ का उपाध्यक्ष सन्तोष अग्रवाल लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक सन्तोषकुमार श्रेष्ठले गरेका थिए ।
Comments