झापा गोल्ड कप २०७८ : संकटा क्लब क्वार्टर फाइनलमा प्रवेश
Published:
by .बिर्तामोड । संकटा क्लब काठमाडौँ पाँचौँ संस्करणको झापा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले क्वार्टर फाइनलको यात्रा तय गरेको हो ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज आइतबार भएको प्रतियोगिता अन्तरगतको दोस्रो खेलमा संकटाका उत्तम राईले ६५औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले फोडे फोफोनाको क्रसलाई हेडमार्फत गोलमा परिणत गरेका थिए ।
खेलको सुरुवाती समयदेखि नै दुवै टोलीले आक्रमक खेलेका थिए । पुलिसले गरेका केही आकर्षक आक्रमण संकटाका गोलरक्षक रोहित कार्कीले उत्कृष्ट बचाउ गरे । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफमा दुवै टोली आक्रमक बने पनि स्कोर भने संकटाले मात्र गर्न सफल भयो ।
खेलको २४औँ मिनेटमा पुलिसका सन्तोष हेमरमको पासमा रवि पासवानको हेडर पोस्ट नजिकैबाट बाहिरियो । २६औँ मिनेटमा सौजन राईको फ्रिकिक संकटाका गोल रक्षक रोहित कार्कीले विफल तुल्याए ।
५०औँ मिनेटमा पुलिसका कप्तान जुमानु राईले ‘वान भर्सेस वान’मा गोल गर्न नसक्दा अग्रता बनाउन सकेन । ५४औँ मिनेटमा कप्तान राईले प्रहार गरेको बल आफ्नै खुटामा ठोकिएर पोस्ट नजिकैबाट बाहिरियो ।
त्यस्तै, १६औँ मिनेटमा संकटाका लक्ष्मण रुचालको फ्रिकिक पुलिसका गोल रक्षक संजित श्रेष्ठले विफल बनाए । २२औँ मिनेटमा संकटाका उत्तम राईले डिबक्स एरियाबाट गरेको प्रहार देब्रे बार नजिकैबाट बाहिरियो । संकटाले खेलमा एक दर्जनभन्दा बढी प्रहारलाई गोलमा सदुपयोग गर्न सकेन ।
आइतबारको खेलको प्लेयर अफ द म्याच विजेता टिम संकटाका फोडे फोफोना घोषित भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ प्राप्त गरे । प्लेयर अफ द म्याचको सौजन्य युवा व्यवसायी श्याम प्रसाईंले प्रतियोगिताभर गरेका छन् ।
प्रतियोगिताअन्तर्गत सोमबारको क्वार्टर फाइनल खेल सशस्त्र प्रहरीको एपिएफ क्लब र सातदोबाटो युथ क्लबबीच हुने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले बताए । एपिएफ सोझै क्वार्टर फाइनलमा पुगेको हो । सातदोबाटोले जावलाखेललाई हराउँदै क्वार्टर फाइनलमा प्रवेश गरेको थियो ।
Comments