जन्मदिनमा हुकुमसिंहको परोपकारी कामले पायो निरन्तरता
Published:
by .कमल । नेपाली कांग्रेसका एक नम्बर प्रदेश समिति सदस्य तथा युवा नेता हुकुमसिंह राईले जन्मदिनमा गर्दै आएको परोपकारी कामलाई यसवर्ष पनि निरन्तरता दिएका छन् ।
यसअघि देखि नै आफ्नो जन्मदिनमा प्राकृृतिक प्रकोपमा परेका तथा अन्य असहाय तथा विपन्नहरुलाई सहयोग गरेर राईले जन्मदिन मनाउँदै आएका छन् । यसवर्ष पनि उनले सो कामलाई निरन्तरता दिएका हुन् ।
आज आइतबार परेको आफ्नो जन्मदिनमा उनले कमल ७ स्थित सिद्धेश्वर शिवालय मन्दिरमा पुगेर धार्मिक गुरुहरुसँग आशीर्वाद लिए । उनले त्यहाँस्थित सिद्धेश्वर गुरुकूलमा रहेका बटुक तथा गुरुहरुलाई भण्डाराको व्यवस्था गर्दै चप्पल हस्तान्तरण गरे ।
गुरुकूलका प्राचार्य बुद्धिप्रसाद न्यौपानेसहित स्थानीयहरुले यस्तो कामको प्रशंसा गर्दै राईलाई जन्म दिनमा शुभकामना दिएका थिए ।
नेता राईले मिर्गौला पीडित एकजना बिरामीलाई नगद १५ हजार रुपैयाँ घरमै पुगेर हस्तान्तरण गरेका छन् । करिब दुई वर्षदेखि दुवै मिर्गौलामा समस्या आई थला परेका ५० वर्षीय मनोज लकान्द्रीको परिवारलाई सो रकम हस्तान्तरण गर्दै उपचारको लागि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाए ।
सो लगत्तै उनी आफना शुभेच्छुकहरुसँगै कमल ४ जोगीचौनस्थित धिमाल तथा सन्थाल समुदायको बाहुल्यता रहेको सुकुम्बासी बस्तीका २६ परिवारलाई कूल ५२० केजी चामलसहित अन्य खाद्यन्न हस्तान्तरण गरेका छन् । त्यहाँँस्थित स्थानीय पार्टी नेतृत्वसँग आवश्यक समन्वय गरेर उनले प्रति परिवार २० केजीका दरले चामल, नून, खानेतेल र दालसहितको खाद्यान्नको प्याकेज हस्तान्तरण गरेका हुन् ।
त्यस अवसरमा त्यहाँ रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुले जग्गाको स्वामित्व प्राप्तीका लागि पहल गरिदिन ध्यानाकर्षण गराएका थिए । जन्मदिनमा फजुल खर्च कटौती गर्दै परोपकार क्षेत्रका उदाहरणीय काममा लगाउँदै आएका नेता राईले यसअघि आगलागी पीडित, बाढी पीडित तथा अन्य विपन्न तथा असहायहरुको स्वास्थ्योपचार र दैनिक जीवनयापनमा सहयोग पुर्याउँदै आएका छन् ।
Comments